बैंकिङ खबर । अमेरिका र हङकङलाई पछि पार्दै सिंगापुर विश्वकै सबैभन्दा प्रतिस्पर्धात्मक अर्थतन्त्र भएको मुलुक बनेको छ । स्विजरल्याण्डस्थित आइएमडी बिजनेस स्कुलले सार्वजनिक गरेको बार्षिक र्याङकिङमा सिंगापुर पहिलो स्थानमा पर्न सफल भएको छ । सूचिको दोस्रो स्थानमा हङकङ र तेस्रो स्थानमा अमेरिका रहेका छन् ।
एशिया प्रशान्त क्षेत्रका १४ मध्ये ११ देशहरु सुधार तथा आफ्नो पुरानो स्थानलाई कायम राखेको अवस्थामा छन् । एशिया प्रशान्त क्षेत्रमा इन्डोनेशियाको प्रदर्शन उत्कृष्ट छ । इन्डोनेशियाले ३२ नम्बरबाट छलाङ मार्दै ११ नम्बरमा माथि उक्लिएको छ । थाइल्याण्ड २५ बाट २० नम्बरमा उक्लिएको छ। जापान भने पाँच तह तल झरेको छ।
यूरोपेली अर्थतन्त्रहरुमा भने मिश्रित अवस्था छ। बेलायत ३ तह तल झर्दै २३ नम्बरमा पुगेको छ । नर्वे टप टेनबाटै बाहिरिएको छ । दुई अंक तल झरे पनि डेनमार्क र नेदरल्याण्डले टप टेन पोजिसन गुमाएका छैनन्। आयरल्याण्ड पाँच स्थान उक्लिँदै ७ नम्बरमा पुगेको छ। स्वीजरल्याण्ड एक तह उक्लिँदै यूरोपको सबैभन्दा उत्कृष्ट अर्थतन्त्र कायम रहेको छ। यसैगरी साउदी अरेबियाले पनि अर्थतन्त्रमा छलाङ मार्दै २६ नम्बरबाट १३ नम्बरमा आएको छ।
भेनेजुयला श्रेणीको सबैभन्दा पुछारमा रहेको छ।



