आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई लाख ९४ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा कम्पनीका कर्मचारी समेतलाई गरी दुई करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने जनाएको छ ।
आईपिओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । आईपिओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि माइक्रोफाइनान्सले कात्तिक १८ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभाबाट कार्यक्षेत्र विस्तार गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत पारित गर्दैछ ।
नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । विगत २ वर्षदेखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।


