May 5th, 2017

‘हरेक नेपालीहरु स्वरोजगार बन्नुपर्छ’

बलराम पौडेल आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त आइएलएफसिओ माइक्रोफाइनान्स राष्ट्रिय स्तरको माइक्रोफाइनान्स हो । यस लघुवित्तले हाल १२ वटा शाखा मार्फत सेवा दिँदै आइरहेको छ । शाखा विस्तारको गतिमा अलि कमजोर देखिएको यस संस्थाको पछिल्लो वित्तीय अवस्था र सेवा समग्रमा राम्रै छ । यसै सन्दर्भमा कृषि र पशुपालनजस्ता व्यवसायलाई कर्जा लगानीको प्राथमिकतामा राखेर ग्रामीण भेगका विपन्न वर्गहरुलाई सेवा दिँदै आएको यस संस्थाका सीईओ पौडेलसँग संस्थाको पछिल्लो अवस्था, भविष्यका योजना र सेवाबारे बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 
 
आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो करिब २५ करोड लगानी रहेको छ । यस संस्थाको भाखा नाघेको कर्जा एक प्रतिशत भन्दा पनि कम छ । समग्रमा भन्नुपर्दा लघुवित्त क्षेत्रमा हाम्रो वित्तीय अवस्था राम्रो छ ।

शाखा सञ्जालहरु कति छन् ?
हामीले भर्खरै मात्र पाँचौ बार्षिक साधारणसभा सम्पन्न गर्यौँ । आइएलएफसिओको स्थापना भएको पनि धेरै भएको छैन । शाखा सञ्जाल जुन रफ्तारमा विस्तार हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले हाम्रो १२ वटा शाखा छन् । पूर्वमा ओखलढुंगा र पश्चिममा दाङसम्म यस संस्थाका शाखा रहेका छन् ।

थप शाखा विस्तार गर्ने योजना बनाउनुभएको छैन ?
तपाईँले वास्तबमै सहि प्रश्न गर्नुभयो । आइएलएफसिओ एउटा राष्ट्रिय स्तरको लघुवित्त भएका कारणले शाखा विस्तार गर्नैपर्ने छ । हामी शाखा विस्तार गर्ने योजना बनाइरहेका छौँ । यसै आर्थिक बर्ष भित्रमा कम्तिमा पनि ७ वटा शाखा विस्तार गर्ने हाम्रो योजना रहेको छ । हामीले सुदुरपश्चिम अन्तर्गतका स्थानहरुमा शाखा खोल्ने तयारी गरिरहेका छौँ । हाम्रो अहिले बिशेष पुर्वी पहाडी जिल्लाहरु अर्थात प्रदेश नम्बर १ मा बढी शाखाहरु रहेका छन् । यसलाई सन्तुलन कायम गर्न हामीले पश्चिम प्रदेश नम्बर ७ सम्म नै शाखा सञ्जालहरु विस्तार गर्ने योजना बनाएका छौँ ।

ब्याजदरको अवस्था के छ ?
हामीले २० देखि २२ प्रतिशतसम्म व्याज लिने गरेका छौँ । प्रतिशत हेर्दा धेरै जस्तो देखिन्छ । तर, अन्यको तुलनामा यो कम हो । अन्यको ब्याजदर हेर्दा थोरै देखिए पनि उनीहरुले सेवा शुल्क पनि लिन्छन् । तर, हामीले सेवा शुल्क लिने गरेका छैनौँ ।

राष्ट्र बैंकले व्याजदर अधिकतम १८ प्रतिशत कायम गर्न भनेको थियो । यो त राष्ट्र बैंकको निर्देशनको उल्लंघन भएन र ?
मैले अघि भने नि । प्रतिशत हेर्दा बढीजस्तो देखिएको छ । अरु कतिपय लघुवित्तहरुलाई हेर्ने हो भने हाम्रो व्याजदर कम नै हो । अन्यको ब्याजदरको हेर्दा थोरै देखिन्छ । तर, उनीहरुको व्याजदरमा सेवाशूल्क जोडिएको हुन्छ, जुन हाम्रोमा हुँदैन । 

यसको मतबल, लघुवित्तहरुले चर्को ब्याज लिन्छन् भन्ने जनगुनासो सही हो । हैन त ?
यसलाई कर्जाको चर्को ब्याज भनेर बुझ्नु हुँदैन । हामीले कर्जा लगानी गछौँ । कर्जा लिने सेवाग्राहीले त्यसको सदुपयोग गरेर अथवा उपलब्धी गरेर केहि हिस्सा मात्रै ब्याजको रुपमा बुझाउने हो । कर्जाको दुरुपयोग भयो भने कम ब्याजमा दिएको कर्जाको पनि कुनै मान्यता रहँदैन । जुन कर्जा हामीले दिन्छौँ, त्यसलाई उद्यमशीलतामा लगाई आय आर्जन गराउने हो भने त्यो चाहिँ ब्याजदर खासै उच्च जस्तो मलाई लाग्दैन ।

कर्जा दिने व्यवस्था कस्तो छ ?
हामीले २० हजार रुपैयाँदेखि कर्जा दिन्छौँ । त्यसमा आवश्यकता हेरेर कर्जा लगानी गर्छौँ । नेपाल राष्ट्र बैंकले तोके अनुसार हामीले बिना धितो कर्जा लगानी गरिरहेका छौँ । अहिले हामीले बिना धितो दुई लाख रुपैयाँसम्म दिने गरेको छौँ । अधिकतम तीन लाख रुपैयाँसम्म दिने हाम्रो योजना छ । विस्तारै धितो लिएर कर्जा दिने व्यवस्था पनि हुनेछ । हामीले आपतकालिन कर्जा पनि दिने गरेका छौँ । सदस्यहरुको आवश्यकताअनुसार निर्णय गराएर यस्तो कर्जा उपलब्ध गराउने गरेका छौँ ।  

बिनाधितो कर्जा डुब्ने खतरा कत्तिको हुन्छ ?
वास्तबमा लघुवित्तमा महिलाहरुको समूहको जमानीमा कर्जा लगानी गर्ने हुँदा डुब्ने खतरा हुँदैन । ग्रामीण भेगमा वास्तविक गरिबहरुले एक त कर्जा लिन डराउँछन् । अर्कोतर्फ कर्जा लिए पनि तिर्नैपर्छ भन्ने भावना हुन्छ । त्यसैले डुब्ने खतरा त्यति हुँदैन । तर पनि मलाई के लाग्छ भने, कर्जा लगानी गर्दा ग्राहक पहिचान गर्नु एकदमै आवश्यक हुन्छ ।

कुन क्षेत्रमा बढी लगानी गर्नुभएको छ ?
दूरदराजमा बस्ने गरिब महिला जो उद्यमी वा आत्मनिर्भर बन्न चाहान्छन्, उनीहरुलाई बिशेष गरेर कृषि क्षेत्रमा बढी लगानी गरेका छौँ । सानो–सानो घरेलु उद्योग लगायतलाई आधार बनाएर हामीले कर्जा लगानी गर्ने गरेका छौँ । आइएलएफसिओको वर्तमान अवस्था हेर्ने हो भने करिब आठ हजार महिलाहरु यसमा आवद्ध हुनुहुन्छ । शाखा सञ्जाल विस्तार गरेर अझै व्यापक मात्रामा नेपाली महिला दिदि बहिनीहरुलाई सेवा दिने विचार गरिरहेका छौँ ।

आफ्ना सदस्यहरुलाई कर्जा बाहेक अन्य सेवा सुविधा पनि केहि दिनुहुन्छ कि ?
हामीले कर्जाको सुरक्षणका लागि बीमा कार्यक्रम संचालन गरिरहेको छौँ । अहिले क्रेडिट प्लसको कुरा छ । सामाजिक उत्तरदायित्व लघुवित्तहरुले पनि बहन गर्नुपर्छ । अहिले ट्यावलेट, ईबैंकिङ, ब्रान्चलेस बैंकिङ लगायतको कुरा पनि आएको छ । हामी पनि नयाँ प्रविधि अनुसारको बैंकिङ सिस्टममा जानुपर्छ । सदस्यहरुलाई अत्याधुनिक सेवा दिने विचारमा छौँ । 

यस संस्थाको पुँजीको अवस्था कस्तो छ ?
आइएलएफसिओको चुक्ता पुँजी हाल १० करोड रुपैयाँ छ । हाम्रो बार्षिक साधारणसभाबाट यसैपाली पाँच प्रतिशत डिभिडेण्ट दिने निर्णय गरेका छौँ । यो डिभिडेण्टपछि हाम्रो संस्थाको चुक्ता पुँ्जी १० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।

लघुवित्तको छुट्टै नियामक निकायको आवश्यकता कत्तिको छ ?
लघुवित्तहरुको नियामक छुट्टै हुनुपर्छ भनेर पहिले देखि नै कुरा उठिरहेको छ । खास गरेर ‘घ’ वर्गको लघुवित्तको छुट्टै नियामक निकाय हुनु आवश्यक जस्तो मलाई लाग्दैन । अनुमति दिँदा सेवा र गुणस्तरलाई ध्यानमा राखेर लघुवित्त सञ्चालनका लागि अनुमति दिने हो भने यसलाई निमयन गर्न छुट्टै नियामक निकायको जरुरत पर्दैन ।

नेपालको आर्थिक समृद्धि कसरी सम्भव छ ? यसमा लघुवित्तको के सहयोग रहन सक्ला ? 
नेपालको आर्थिक समृद्धिका लागि पहिलो कुरा हरेक नेपालीहरु स्वरोजगार बन्नु आवश्यक छ । पछिल्लो समय नेपाली युवाहरु धमाधम बैदेशिक रोजगारीमा गइरहेको अवस्था छ । नेपाली युवाहरुले बिदेशी भूमिमा गएर पठाएको पैसा नै अहिले अर्थतन्त्रको ढुकढुकी बनेको छ । रेमिट्यान्सले अहिले आम्दानी त भइरहेको छ । तर, रेमिटेन्सले नै देश सँधै चल्छ भन्न सकिँदैन । किनकि यो केवल सर्ट टर्मका लागि मात्र हो । रेमिट्यान्सले लामो समयसम्म देश चलाउन सक्दैन । तसर्थ हरेक नेपाली युवाहरुलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिमहरु दिनुपर्छ । बैदेशिक रोजगारीमा जान लागेका युवालाई रोकेर स्वदेशमै उद्यमशील बनाउन हामी सबै लाग्ने हो भने नेपालको आर्थिक समृद्धि सम्भव छ । 

नेपालको आर्थिक समृद्धिमा लघुवित्तहरुको योगदान झनै महत्वपूर्ण हुन्छ । लघुवित्तहरुमा करिब २४ लाख ग्रामीण भेगका विपन्न वर्गहरु आबद्ध छन् । लघुवित्तहरु अझै दुरदराजममा पुग्न सकेका छैनन् भन्ने पनि कुरो उठेको छ । नेपालको ग्रामीण भेगको दुरदराजमा पुगेर विपन्न वर्गहरुमा अझै सेवा विस्तारतर्फ लघुवित्तहरुले ध्यान दिने हो भने नेपालको आर्थिक समृद्धिमा लघुवित्तले पनि अवश्य सहयोग गर्न सक्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]