रुपा कोइराला । बीमा कम्पनीहरुको नियामक निकायले जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी दुई अर्ब पुर्याउनुपर्ने व्यवस्था लागू गरेको छ । पुँजीवृद्धिका लागि समितिले ०७५ असार मसान्तसम्मको समय दिएको छ । बीमा समितिले अबको १६ महीनाभित्र बीमा कम्पनीहरूलाई पूँजी बढाउन कम्पनीको नाफाबाट बोनस सेयर र हकप्रद शेयरका साथै मर्जर–प्रक्रियाबाट चुक्ता पूँजी बढाउन सकिने विकल्प दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योेरेन्सको चुक्तापुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । बीमा समितिको निर्देशन अघि नै दुई अर्ब चुक्तापुँजी नघाइसकेको कम्पनीले हालै एफपिओ निष्काशन गरेको छ । उक्त एफपिओ जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब नौ करोड ६४ लाख २८ हजार छ सय २५ रुपैयाँ पुग्नेछ । यससँगै नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै चुक्तापुँजी भएको बीमा कम्पनी बन्नेछ ।
नेशनल लाइफ इन्स्योरेन्स
हाल नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार छ सय ७० रुपैयाँ छ । गत आर्थिक वर्षको कमाईबाट कम्पनीले ३० प्रतिशत बोनस सेयर जारी गरिसकेको छ भने शतप्रतिशत हकप्रद निष्काशनको प्रक्रियामा रहेको छ । जसपश्चात् कम्पनीको चुक्तापुँजी दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार तीन सय ४० रुपैयाँ पुग्नेछ । नेशनलले चालू आर्थिक वर्षमा नै निर्धारित न्यूनतम चुक्तापुँजी पूरा गर्नेछ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल
एक अर्ब छ करोड ९४ लाख ५३ हजार एक सय २५ रुपैयाँ चुक्तपुँजी भएको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई २४.८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बोनस जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैयाँ पुग्नेछ । कम्पनीले हालसम्म हकप्रद निष्काशनको प्र्रस्ताव अघि सारेको छैन । ०७५ असार मसान्तसम्मममा यो कम्पनीले ६६ करोड ५३ लाख २२ हजार पाँच सय रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । यो पुँजी बैंकले आगामी आर्थिक वर्षमा बोनस र हकप्रद सेयर जारी गरेर सजिलै पुर्याउन सक्नेछ ।
एसियन लाइफ इन्स्योरेन्स
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको कमाइबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी ६७ करोड १३ लाख २७ हजार सात सय रुपैयाँ पुर्याएको छ । यसबाहेक कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर एक अर्ब २० करोड ८३ लाख ८९ हजार आठ सय ६० रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । बाँकी ७९ करोड १६ लाख १० हजार एक सय ४० रुपैयाँ पुँजी एसियनले आगामी ार्थिक वर्षमा बोनस र हकप्रद जारी गरेर सजिलै पुर्याउन सक्ने देखिन्छ ।
गुराँस लाइफ इन्स्योरेन्स
हाल गुराँस लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको कमाईबाट आठ प्रतिशत बोनस सेयर वितरण गरेर ५९ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । यसबाहेक कम्पनीलाई एक अर्ब ४० करोड ६० लाख रुपैयाँ पुँजी आवश्यक पर्छ । कम्पनीले हालसम्म हकप्रद वा अन्य प्रस्ताव अघि सारेको छैन ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ५० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको कमाईबाट कम्पनीले पाँच प्रतिशत बोनस सेयर दिँदैछ, जसपश्चात् कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद प्रस्ताव गरेको छैन । ०७५ असार मसान्तसम्ममा सूर्याले एक अर्ब ४७ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी थप गर्नुपर्ने हुन्छ ।
प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । समितिको निर्देशनअनुरुप चुक्तापुँजी पुर्याउन प्राइमलाई एक अर्ब ५१ करोड १८ लाख ४० हजार रुपैयाँ चुक्तापुँजी आवश्यक हुन्छ । हालसम्म कम्पनीले हकप्रद वा बोनस सेयर प्रस्ताव गरेको छैन । कम्पनीले चालू आर्थिक वर्षको साधारणसभा पनि गरेको छैन ।
राष्ट्रिय बीमा संस्थान
पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा राष्ट्रिय बीमा संस्थानको चुक्तापुँजी ९३ लाख रुपैयाँ मात्रै छ । हालसम्म कम्पनीले हकप्रद अथवा बोनस प्रस्ताव गरेको छैन । संस्थानले यो वर्षको साधारणसभा पनि गरेको छैन । नियामकले पुँजीवृद्धिको नीति ल्याएपछि अब संस्थाले हकप्रद तथा बोनस प्रस्ताव अघि सार्दै साधारणसभा बोलाउन सक्छ । कम्पनीलाई एक अर्ब ९९ करोड सात लाख रुपैयाँ चुक्तापुँजी आवश्यक छ । यो कम्पनीलाई पुँजी पुर्याउन ठूलै कसरतको आवश्यकता देखिन्छ ।




