March 26th, 2017

‘लघुवित्तमा कर्जा कोषको अभावका कारण चूनौती सृजना भएकोे छ’

रामहरि दाहाल नेपाल लघुवित्त क्षेत्रका अनुभवी, दक्ष, कुशल र प्रखर ब्यक्तित्वको रुपमा चिनिएका व्यक्तित्व हुन् ।नेपालको लघुवित्त क्षेत्रमा २० बर्षे लामो अनुभव सम्हालेका दाहाल लघुवित्त क्षेत्रका बिभिन्न संस्थाहरुमा उप महाप्रबन्धक, महा प्रबन्धक तथा नायब प्रमुख कार्यकारी अधिकृत लगाएतका जिम्मेवारी सफलतापूर्वक हासिल गरिसकेका छन् । सफल लघुवित्तकर्मीको छवि बनाउन सफल दाहाल हाल मेरो माक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रुपमा कार्यरत छन् । उनको २० बर्षे कार्यानुभव तथा समग्र माइक्रोफाइनान्सको अवस्थावारे बैंकिङ खबरका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादीत अंश :

मेरो माइक्रोफाइनान्सको अवस्था कस्तो रहेको छ ?
हामी स्थापनाको चौथो बर्षमा छौं । यस वर्षसम्म लघुवित्त कार्यक्रम सञ्चालन गर्दा कर्पोरेट कार्यालय बट्टार, नुवाकोट, सम्पर्क कार्यालय कुपण्डोल ललितपुर, विभिन्न जिल्लामा रहेको पाँच अनुगमन स्टेशनहरु र मातहतका ४४ जिल्लामा रहेका ६० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय पहुँच कम भएको देशको ६२७ गा.वि.स. तथा न.पा. का करिव ५६ हजार परिवारहरुले प्रत्यक्ष रुपमा यस संस्था मार्फत लघुवित्त सेवा प्राप्त गरिरहेका छन् । जसअन्तर्गत ग्रामीण भेगका विपन्न परिवारका महिलाहरु वित्तीय सुबिधा पुर्याइ छरिएर रहेको रकम पूँजीको रुपमा निर्माण गरी ती परिवारहरुबाट ४० करोड निक्षेप संकलन भएकोे छ भने तिनै परिवारहरुको आर्थिक उपार्जनका निमित्त विभिन्न आयमूलक शीर्षकमा झन्डै दुई अर्ब तीन करोड कर्जा प्रवाह गरेका छौं ।

लघुवित्त बैंकहरुको तथ्याड्ढलाई अध्ययन गर्दा  ५१ वटा लघुवित्त बैंक तथा वित्तीय संस्थाहरु मध्ये शाखा संख्या, ग्राहक सदस्य संख्या, निक्षेप संकलन, कर्जा लगानी, जिल्लामा हाम्रो उपस्थिति आदि सूचकहरुका आधारमा हामी पहिलो दशौं स्थान भित्र पर्दछौं । त्यसैगरी लगानीको प्रतिफलको हिसाबले हेर्ने हो भने पनि नेपालको लघुवित्त उद्योगले लगानीकर्ताको लगानीको प्रतिफल जुन औसत दरमा प्रदान गरिरहेका छन्, त्यो प्रदान गर्न हामी सक्षम छौं । तथापी आजको मितिमा देखिएको कर्जा कोषको अभाव, अनुकुल नभएका नीतिगत व्यवस्था जस्ता कारणले यस क्षेत्रमा चूनौती सृजना भएको महशुस गरेको छु ।

केन्द्रीय कार्यालय नुवाकोटमा रहेकाले त्यस भेगमा माईक्रोफाइनान्सको अवस्था कस्तो छ ?
राजधानी नजिकै भएर पनि बत्तीमुनिको अँध्यारो भनेझैँ अवस्थामा रहेको नुवाकोट जिल्लामा आशातीत रुपमा बैंकिङ्ग तथा वित्तीय सुविधा त्यति राम्रो थिएन । ठूला बैंकिङ्ग सुविधा दिने बैंकहरु भएतापनि जिल्लाको सदरमुकाममा मात्र सीमित थिए । तर ती बैंकहरुबाट दिइने सेवा विपन्न वर्गका लागि अर्थात् पर्याप्त र ठुला बैंकका लागि स्वीकार्य धितो नभएकाहरुका लागि पहुँचको कुरा नै थिएन । बरु स्थानीय रुपमा खुलेका सहकारीहरु मार्फत सेवा लिइरहेका थिए । जब हामी यस जिल्लामा पहिलो लघुवित्त संस्थाको रुपमा स्थापना भई कारोबार शुरु गर्यौं तब ती वित्तीय पहुँच नहुनेहरुकालागि वरदानको रुपमा स्थापित भएका छौं । हाल जिल्लाका बट्टार लगायत रातमाटे, सातबिसे, रानीपौवा लगायत केही ग्रामीण भेगहरुमा शाखा खोली जिल्लाका ६२ गा.वि.स. तथा न.पा. मध्ये ४५ वटा गा.वि.स. तथा न.पा. मा सेवा दिइरहेको अवस्था छ । 

लघुवित्त क्षेत्रभित्र पनि प्रतिस्पर्धा हुने गरेको छ, भनिन्छ नि । हो ?
अन्य वित्तीय अवधारणामा सञ्चालित बैंक तथा वित्तीय संस्था भन्दा लघुवित्तको कारोबार पृथक हुने, जस अन्तर्गत ग्राहक बैंकमा नगई बैंक ग्राहकको घर दैलोमा पुगी लघुवित्त सेवा प्रदान गर्ने प्रक्रिया, विना धितो र समूहमा सञ्चालित कारोबार, नियमित र निरन्तर सुक्ष्म अनुगमन जस्ता क्रियाकलापले लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्च अधिक हुन जान्छ । यसैको सेरोफेरोमा संस्था आत्मनिर्भर हुन प्राय सबै लघुवित्त संस्थाहरुले आफ्नो कारोबारलाई जनघनत्व बढी भएको क्षेत्र, बजारको प्रवन्ध भएको क्षेत्र, प्रविधिको प्रयोग गर्न सहज हुने क्षेत्र र भौतिक पूर्वाधारको हिसाबले सहज क्षेत्रमा आफ्नो कार्यक्रम बिस्तार गर्दै सञ्चालनमा ल्याउँदा एक आपसमा प्रतिस्पर्धा निश्चित रुपमा रहेको छ । प्रतिस्पर्धा हुनु नराम्रो बिषय होईन । स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी पनि छ । सँगैे घ वर्गका संस्था खोल्नका लागि नीति खुला रहिरहेकाले दिनानुदिन लघुवित्त संस्थाहरु थपिने क्रम जारी छ । जसको कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न गई सदस्य दोहोरोपना, एक ग्राहकले धेरै संस्थासँग ऋण लिई चलाउने प्रवृत्तिको विकास भई नकारात्मक परिवेशको सृजना हुनसक्ने भएकाले म यसलाई चूनौतीपूर्ण देख्दछु ।

लघुवित्त संंस्थाहरुले प्रवाह गर्ने कर्जामा जोखिम कत्तिको छ ?
लघुवित्त भन्ने वित्तिकै मुख्यतः स–साना बचत, बिना धितो कर्जा प्रवाह, साना बीमा कार्यक्रम र रेमिट्यान्सको कारोबार भन्ने बुझिन्छ । लघुवित्त संस्थाहरुले प्रवाह गर्ने कर्जामा जोखिम छ, बिना धितो कर्जा भएपछि जोखिम नहुने कुरै भएन । तर त्यसको सही किसिमले जोखिम व्यवस्थापन गरी अघि बढ्ने हो भने जुन रुपमा सोचिएको छ, त्यति धेरै भने हुँदैन ।

लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जा मुख्यतः विना धितो र समूह जमानीमा हुने हुँदा अनिश्चितता पक्कै छ । तथापी लघुवित्तमा मेरो लामो अनुभवले के बुझेको छु भने, धनी वर्गलाई धितो राखेर कर्जा दिँदा जति सुरक्षित छ, विपन्न वर्गलाई विना धितो लगानी गर्दा त्यति नै सुरक्षित रहन्छ । जुन बिषयको तथ्य लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय विवरणमा कर्जाको असुलीदर ९८ प्रतिशत भन्दा अधिक रहनु नै हो ।

नियम पुर्याएर सेवा दिने लघुवित्त संस्थाहरुको समस्या त्यति नआउने र समस्या आइहालेमा पनि समाधान गर्न सकिने खालका हुन्छन् । जुन सेवा दिनका लागि सक्षम कर्मचारीहरुको आवश्यकता पर्दछ । किनकि उसले सही ग्राहक सूचना तथा सल्लाह, परियोजनाको सही छनौट, कर्जा सदुपयोग, सीप विकास आदि कुराहरु बारे अध्ययन गरी सेवालाई पूर्णता दिन्छ भने पनि यस क्षेत्रको कर्जा जोखिम न्यूनीकरण गर्न सकिन्छ । यदि कर्मचारी नै अपरिपक्व, असक्षम र असन्तुष्ट छ भने पनि कर्जा जोखिम बढ्ने सम्भावना बढ्छ । 

ग्राहकको तर्फबाट पनि कर्जा जोखिम हुने हुन्छ, जसमा सेवा प्रदायक संस्थाले संवेदनशील ढङ्गले कार्य गर्नु आवश्यक मानिन्छ । जस्तै एउटै ग्राहक सदस्य उक्त क्षेत्रमा रहेका २, ३ वा बढी संस्थाहरुसँग सेवा लिन खोज्छ, त्यसमा नियन्त्रण गर्नुपर्छ । त्यसैगरी गाई तथा पशुपालन गर्न कर्जा लिई घरमा पालिराखेको गाई–भैँसी देखाउने प्रवृत्ति छ, त्यतिमात्र होइन तिनै गाई–भैँसी देखाएर धेरै संस्थाबाट कर्जा लिई अनुत्पादक क्षेत्रमा लगानी गर्ने वा उपभोगमा खर्च समेत गर्ने गरेको पाइएको छ । कतिपय ग्राहक सदस्यहरु अधिक कर्जा उपभोग गरेका कारण कर्जा दुरुपयोग हुन सक्ने र सो कारण कर्जा तिर्ने क्षमतामा ह्रास आउने साथै कतिको परियोजना फेल भएको कारण पनि कर्जा तिर्न नसक्ने अवस्था आउन सक्छ । साथै दैवी प्रकोप, बन्द, हडताल, राजनैतिक द्वन्द्व, उत्पादित वस्तुको बजार अभाव जस्ता बाह्य प्रभावका कारण पनि ग्राहक सदस्यहरुको कर्जा तिर्ने क्षमतामा ह्रास आउने हुँदा यस क्षेत्रको कर्जा जोखिम बढ्न सक्छ ।

निक्षेप र कर्जालाई आधार मानी हेर्दा लघुवित्त संस्थाहरुको नाफा अस्वाभाविक रहेको पाइन्छ नि ?
लघुवित्त संस्थाहरुको पूँजी कम हुन्छ । लगानी गर्ने लघुकर्जा भनेको अन्यत्रबाट कर्जा लिई लगानी गर्नुपर्ने हुन्छ । जसले गर्दा लघुवित्तमा आइडल रकम रहने अवस्था आउँदैन र यसले एनपिए कम हुन जान्छ । जति स्रोत संकलन भएको छ, त्यसको ९० प्रतिशत बढी लगानी हुने नै हो । त्यसैगरी जति नाफा हुन्छ, सो को तुलना पूँजीसँग हुन्छ । कम पूँजी र तुलनात्मक नाफा बढी देखिने अवस्था रहन्छ । यो लिभरेजिङ्गको कारण भएको हो ।

लघुवित्तको कर्जा लगानी प्रकृया सरल हुन्छ तर लगानीपूर्व गरिने साक्षरता, लगानीको समयमा परियोजना निरीक्षण तथा विश्लेषण र लगानी पछि निरन्तर अनुगमन तथा निरीक्षण गरिने हुँदा सजग प्रकृतिको कारोबार हुन्छ । यसले गर्दा कर्जा जोखिम कम हुने भई कर्जा जोखिम कोषका लागि धेरै प्रोभिजन गरिराख्नु पर्दैन र खर्च कम हुनजान्छ । खर्च कम हुनु भनेको आखिर तुलनात्मक रुपमा नाफा बृद्धि हुनु नै हो ।

त्यसैगरी लघुवित्त सेवा प्रभावकारी हुन्छ । प्रभावकारी सेवा मार्फत छिटो प्रगती हुने र सञ्चालनगत खर्च कम गरी सकभर छिटो संस्था स्व–सक्षम हुने हुन्छ । लघुवित्त क्षेत्रका अधिकांश कर्मचारीहरुलाई औसत मात्र सेवा सुविधा दिइन्छ । तर उनीहरुले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म काम गर्नुपर्ने हुन्छ । उनीहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने गरी ग्राहक सदस्य, बचत, लगानी आदिको लक्ष्य दिइएको हुन्छ । जुन उनीहरुले पालना गरिरहेको अवस्था छ । कर्मचारीहरुको सेवा अनुरुपको सेवा सुविधा भुक्तानी दिने हो भने र कार्यसञ्चालन खर्च नियन्त्रण नगर्ने हो भने बजारमा लघुवित्तले धेरै नाफा कमायो भन्ने अवस्था पनि नआउन सक्छ ।

लघुवित्त बैंकहरुलाई अझ बढी प्रभावकारी बनाउन के गर्नुपर्ला ?
नेपालमा भर्खरै मात्र चौथो लघुवित्त सम्मेलन सम्पन्न भएको छ । जहाँ लघुवित्तको प्रभावकारिता बढाउने, पहुँच नपुगेको ठाउँमा पहुँच पुर्याउने, आधुनिक प्रविधिको प्रयोग गरी नविनतम सेवाहरु प्रदान गर्ने, अझै पनि बैकिङ्ग सेवाको दायरामा आउन नसकेका झण्डै ६० प्रतिशत परिवारलाई सेवा क्षेत्रमा समेट्ने, वर्तमान अवस्थामा देखिएका समस्या र चूनौतीहरुलाई न्यूनीकरण गर्ने, विषयमा केन्द्रित रही निचोडमा पुग्नु पर्नेमा सो नभई लघुवित्त बैंक तथा वित्तीय संस्थाहरु र प्रमुख नियमक निकाय बीच बहस मात्र भएको मैले महशुस गरेको छु । प्रमुख नियामक निकायले सेवामा विविधिकरण, सरल र सहज सेवा, हिमाल, पहाड र तराइको ग्रामीण दुर दराजमा वित्तीय पहुँच पुर्याउन सहयोगि भुमिका रहनुपर्नेमा दुई प्रतिशत लघुवित्तमा प्राप्त भई रहेको वित्तीय स्रोत कटौती र ठूला क वर्गका बैंकहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको सृजना गराइदिएबाट भन्नै पर्दा नेपालको लघुवित्त उद्योगमै कालो बादल लागेको मैले देखेको छु ।

अर्कोतर्फ, लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनका लागि म चाहिँ ३ तहबाट निरन्तर पहलकदमी हुनु जरुरी देख्दछु । प्रथमतः लघुवित्त क्षेत्र स्वयं बढी अनुशासित हुनुपर्ने छ । साथमा यस क्षेत्रमा नियमित अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । जुन अभियानमा हामी लघुवित्तकर्मीहरु, लघुवित्त संस्था स्वयं र नेपाल लघुवित्त बैंकर्स संघ सबैले आ–आफ्नो तवरबाट पहल गर्नुपर्ने आवश्यकता छ । एकातिर ग्राहक सदस्यलाई केन्द्रमा राखी काम गर्ने अर्थात् ग्राहकको माग अनुरुपको सेवाहरु बनाई लागु गर्नुपर्नेछ भने अर्कातिर ग्राहकको समस्त हितलाई मध्येनजर गरी सेवालाई विविधिकरण र आधुनिकीकरण गर्दै र जनउत्तरदायी सेवा प्रवाह गर्दै सामाजिक, आर्थिक, मानवीय सन्तुलन कायम गर्नु महत्वपूर्ण हुन आउँछ अबका दिनमा । जसका लागि ग्राहक सुरक्षामा ध्यान दिनुपर्ने, कर्जा सूचना केन्द मार्फत साख सूचना प्रणालीलाई अझ व्यवस्थित गर्नुपर्ने, अस्वस्थ प्रतिस्पर्धा र अधिक ऋणग्रस्तताको अवस्था आउन नदिने, वित्तीय सेवा नपुगेका क्षेत्रमा जाने र कुनैपनि बेला वित्तीय संकट नआओस् भन्ने उद्देश्यका साथ दीगो वित्तीय श्रोत खोजिनुपर्ने वा राष्ट्रिय लघुवित्त लगानी कोष खडा गर्न पहल गर्नुपर्ने देखिन्छ ।

यसलाई बिर्सेर हेर्दा, नेपाल सरकारका तर्फबाट विभिन्न क्षेत्रमार्फत जनस्तरमा दिइरहेका सीप विकास तथा तालिम कार्यक्रमलाई साना तथा मझौला उद्योगसम्म सञ्चालन गर्ने क्षमता तयार गर्ने गरी तालिम तथा विकास कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै जानुपर्ने देखिन्छ । त्यतिमात्र नभएर सीप विकास तथा तालिम व्यवस्था र क्षमता विकास गर्ने निकायहरु र लघुवित्त प्रदायक संस्थाहरुबिच समन्यव गराउनु अपरिहार्य देखिएको छ । राज्यका दूरदराजका क्षेत्रमा रहेका जनस्तरमा लघुवित्त सेवा पुर्याउन त्यति सजिलो नभएको कारण प्रविधि विकास लगायत पूर्वाधार विकासमा राज्यले ध्यान दिनु आवश्यक छ । यसमा राज्यका नीति निर्माण गर्ने तहमा रहेका विज्ञहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैगरी लघुवित्त शिक्षा कार्यक्रमलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न सकेमा र राज्यका दीर्घकालीन योजनाहरुमा लघुवित्तलाई पनि जोडेर गरीबी निवारणका कार्यक्रमहरु तयार गरिनु पर्दछ भन्ने कुरा सान्दर्भिक हुने मैले ठानेको छु ।

तेश्रो, हाल ठूला बैंकिङ्ग संस्थाहरु, लघुवित्त संस्थाहरु र सहकारीहरु मार्फत सञ्चालन भइरहेको लघुवित्तीय सेवालाई थप परिस्कृत बनाई एकद्वार नीति ल्याइनु राम्रो हुन्छ जस्तो लाग्दछ । यसका लागि ठूला बैंकिङ्ग संस्थाहरुलाई जस्तै नियमन गर्न छुट्टै लघुवित्त नीति ल्याई एकीकृत रुपमा लागु गर्न सकेमा अहिले आइरहेको दोहोरोपना, अधिक ऋणग्रस्तता, शहर तथा आसपासका क्षेत्र र तराईमा मात्र केन्द्रीत लघुवित्त सेवा आदि नियन्त्रण गर्दै देशका सबै क्षेत्रमा समानुपातिक आर्थिक बृद्धि हुनेगरी लघुवित्त सेवा लैजान सकिने देखिन्छ । 

मेरो माईक्रोफाईनान्सको कुल पुँजी, बचत, र कति ऋण प्रवाह र अगामी योजनाको के छन् ?
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हालको चुक्ता पूँजी २२ करोड रहेको छ । यसलाई निरन्तर बृद्धि गर्दै लगिने योजना छ । त्यसमा पनि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि पूँजी बृद्धि गर्ने योजना ल्याएमा सो अनुरुप बृद्धि गर्नैपर्ने हुन्छ ।

हाल ६० वटा शाखा कार्यालयहरु मार्फत अर्ध–शहरी, ग्रामीण तथा पिछडिएका क्षेत्रमा लघुवित्तीय सेवा दिइरहेका छौं । समय क्रमसँगै सदस्य बृद्धि हुने र सदस्य बृद्धिसँगै बचत र कर्जा पनि बृद्धि निश्चय नै हुन्छ । यो नियमित प्रकृया बाहेक पनि राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था भएकोले मेरो माइक्रोफाइनान्सले आगामी ४ वर्षभित्र देशका ७५ वटै जिल्लामा शाखा बिस्तार गर्ने योजना बनाएको छ । 

अन्त्यमा यस माईक्रोफाईनान्सको तर्फबाट के भन्न चाहानुहुन्छ ?
नेपालको परिवेसमा लघुवित्तकर्मीले उठाएको व्यवहारिक र यथार्थपरक बिषयमा प्रमुख नियमक निकायले बिषय स्वीकार गर्नुको सट्टा बिषयमा तर्क मात्र पेश गुर्न, यस क्षेत्रको लागि स्रोतको कटौती हुनु, क वर्गको बैंकहरुसँग प्रतिस्पर्धामा जुधाउनु तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी संशोधित लघुवित्त संस्थाहरुले बैंक लेख्न नपाउने व्यवस्था गरी गरिबले बैंकसँग कारोबार गर्न नहुने भनी बिपन्नहरुको अपमान भएकोे जस्तो मैले अनुभूति गरेको छु । अर्कोतर्फ, प्रमुख नियामक निकायले यस आ.व.को मौद्रिक नीति मार्फत गरेको व्यवस्थाले लघुवित्त उद्योगमा समस्या र संकट सृजना भई वित्तीय पुहुँच बृद्धि गर्ने, अति बिपन्नलाई सेवा प्रदान गर्ने जस्ता बिषयमा अवरोध उत्पन्न भई हिजोकोझैं पुनः ग्रामीण भेगका जनताहरु उनै स्थानीय धनाढ्यसँग चर्को ब्याजमा कारोबार गर्न बाध्य हुने परिस्थिति सृजना हुन नजाहोस् भन्ने कामना गर्दछु । 

साथै मेरो माइक्रोफाइनान्सको तर्फबाट समस्त लघुवित्त उद्योगको सर्वोपरि हितको लागि शुभेच्छा प्रकट गर्दछु । मेरो माइक्रोफाइनान्सलाई यस अवस्थामा आइपुग्न सहयोग गर्नुहुने संस्थापक बैंकहरु, सञ्चालकज्यूहरु, लगानीकर्ता, कर्मचारी, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड, कर कार्यालय, नेपाल सरकार लगायत प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुहुने सबै सरोकारवाला व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिन चाहन्छु साथै सदैव संरचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु । बजारमा लघुवित्तलाई लक्ष्यित गरी नेगेटिभ मेसेजिङ्गको अवस्था मात्र नआओस्, सफलताको कथाको पनि उत्तिकै प्रचार होस्, सबै मिडियालाई सुझाव दिन चाहन्छु ।

राज्यको गरीबी निवारणमा भूमिका खेलेको लघुवित्त क्षेत्रलाई पनि ठूला बैंकहरु सरह अर्थात् अन्य व्यापारिक फर्म सरहको कर लिइन्छ । यसमा पुनर्विचार भएमा यस लघुवित्त क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्न जाने हुन्छ । अथवा लघुवित्त संस्थाहरुबाट तिरिएको करको केही प्रतिशत जम्मा हुनेगरी राज्यस्तरबाट लघुवित्त सञ्चालन कोष खडा गर्ने व्यवस्था भएमा यस लघुवित्तको दायरा फराकिलो पार्न सकिने अवस्था सृजना हुन्छ । 

लघुवित्तले सामाजिक, आर्थिक समावेशीता कायम गर्ने र ग्राहकको चाहना र आवश्यकता अनुसारको लघुवित्तीय सेवा अर्थात् जनउत्तरदायी सेवा दिनका लागि समर्पित हुन सम्पूर्ण लघुवित्त संस्थाहरु, लघुवित्तकर्मी र सम्बद्ध कर्मचारीहरुमा आग्रह गर्दछु । भौतिक पूर्वाधार नभएका तथा दुर्गम क्षेत्रमा फरक ढंगले अथवा सीप, तालिम, प्रविधि, बजार विकास आदि प्रयोग गरी सेवा दिनुपर्ने हुँदा यसतर्फ राज्यको सहयोग भएमा सम्पूर्ण लघुवित्त उद्योग नै आभारी हुने थियौँ । यसका लागि सरकारी तथा गैरसरकारी निकायसँगको समेत सहयोग र समन्वय होस् भन्ने अपेक्षा यस वित्तीय संस्था लगायत सम्पूर्ण लघुवित्त क्षेत्रले सदा गरिरहनेछ । नेपाल जस्तो मुलुकका लागि लघुवित्त नै गरीबी निवारणको उपयुक्त माध्यम हुनसक्छ भन्ने निष्कर्ष सहित विभिन्न विज्ञहरुबाट व्यक्त भइरहँदा सरकार, नेपाल राष्ट्र बैंक लगायत नियामक निकायबाट पनि उपयुक्त समयमा उपयुक्त नीति–नियम र निर्देशनहरु गरी क्षेत्रमा सहयोग गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]