
बैंकिङ खबर / सिद्धार्थ बैंक लिमिटेडले आफ्नो कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप सुदृढ बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसासँग रणनीतिक सम्झौता गरेको छ । यस सहकार्यबाट बैंकले भिसा कार्डको पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकलाई उपलब्ध गराउँदै आएको कार्ड सेवा र भुक्तानी सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
सम्झौताले बैंकका ग्राहकका लागि कार्ड सेवाको पहुँच विस्तार, भुक्तानी स्वीकार्यताको दायरा बढाउन तथा नयाँ डिजिटल भुक्तानी सेवा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसमार्फत ग्राहकलाई सुरक्षित, सहज र आधुनिक भुक्तानी अनुभव उपलब्ध गराउने बैंकको योजना छ ।
सम्झौताबारे सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यस सहकार्यले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको बताएका छन् । उनका अनुसार भिसासँगको रणनीतिक सहकार्यबाट कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि र कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्यले सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने बताए ।
सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्नुका साथै थप आकर्षक सुविधा र विशेष अफरहरू ल्याउने योजना बनाएको छ ।
नेपालमा डिजिटल भुक्तानी तथा कार्ड कारोबारको प्रयोग विस्तार हुँदै गएको अवस्थामा बैंक र भिसाबीचको यो सहकार्यले सिद्धार्थ बैंकको कार्ड व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।