
बैंकिङ खबर / एनआईसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर खरिद गर्न इच्छुक लगानीकर्ताका लागि आज (मंसिर १० गते) सेयरधनी कायम हुने अन्तिम दिन रहेको छ । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि भोलि (मंसिर ११ गते) एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त निष्कासनबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी संकलन गर्नेछ ।
हकप्रद सेयरको अनुपातअनुसार बैंकका विद्यमान प्रत्येक दुई कित्ता सेयर बराबर एक कित्ता नयाँ सेयर खरिद गर्न पाइनेछ । उदाहरणका लागि, कुनै लगानीकर्तासँग बैंकको २०० कित्ता सेयर छ भने उनले थप १०० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।