
बैंकिङ खबर / नबिल बैंकले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सेवा प्रदायक कम्पनी भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई विधामा अवार्ड प्राप्त गरेको छ । बैंकले कन्ट्याक्टलेस कार्ड जारी गर्ने उत्कृष्टता र ई-कमर्स एक्वायरिङ व्यवसायअन्तर्गत प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।
काठमाडौंस्थित होटल मेरियटमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकका प्रतिनिधिहरूले उक्त अवार्ड ग्रहण गरेका हुन् । डिजिटल भुक्तानी प्रणालीको विकास, विस्तार तथा ग्राहकलाई सहज र सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउने क्षेत्रमा गरेको कार्यसम्पादनका आधारमा बैंकले यी सम्मान प्राप्त गरेको हो ।
अवार्ड प्राप्तिपछि बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसले बैंकलाई नवीनता र प्रविधिमा आधारित सेवा विस्तार गर्न थप प्रेरणा मिलेको बताएका छन् । ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङ सेवालाई निरन्तर परिष्कृत गर्दै जाने उनको भनाइ छ ।
उनले अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरेका छन् ।
भिसा इन्टरनेशनलले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बर्सेनि ‘भिसा लिडरसिप कन्क्लेभ’ आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा डिजिटल भुक्तानी तथा कार्ड सेवाका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने बैंक तथा वित्तीय संस्थालाई विभिन्न विधामा सम्मान गरिन्छ ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास रहेको नबिल बैंकले प्रविधिमा आधारित बैंकिङ सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत बैंकले परम्परागत बैंकिङ सेवाभन्दा अगाडि बढ्दै आधुनिक तथा डिजिटल वित्तीय सेवाको विस्तारमा जोड दिँदै आएको छ ।