
बैंकिङ खबर / सरकारले नागरिक लगानी कोषको पुँजी संरचना सुधार गर्दै लगानीको क्षेत्र विस्तार गर्ने प्रस्ताव अघि सारेको छ । कोषको संस्थागत तथा वित्तीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नागरिक लगानी कोष ऐन, २०४७ संशोधनका लागि विधेयक ल्याइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले पुरानो ऐनलाई वर्तमान आर्थिक परिवेश र वित्तीय बजारको आवश्यकताअनुसार परिमार्जन गर्न खोजिएको बताए । उनका अनुसार कोषको पुँजी वृद्धि गर्नुका साथै लगानीका क्षेत्र र वित्तीय उपकरणको दायरा फराकिलो बनाउने प्रस्ताव विधेयकमा समेटिएको छ ।
विधेयकमा कोषको अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । त्यस्तै, सेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्याउने र चुक्ता पुँजी ३ अर्ब रुपैयाँबाट ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव छ । यसबाट कोषको पुँजीगत आधार बलियो बनाउँदै दीर्घकालीन लगानी परिचालन गर्ने क्षमता बढाउने सरकारको अपेक्षा छ ।
संशोधन विधेयकले कोषको लगानी क्षेत्र विस्तारलाई पनि प्राथमिकता दिएको छ । प्रस्तावअनुसार कोषले परम्परागत लगानीका क्षेत्रसँगै निजी इक्विटी, भेन्चर क्यापिटल, म्युचुअल फन्ड तथा पूर्वाधार विकास बैंकका मुद्दती निक्षेपजस्ता वित्तीय उपकरणमा समेत लगानी गर्न सक्नेछ । यसले कोषको लगानी विविधीकरण गर्दै नयाँ वित्तीय उपकरणमार्फत प्रतिफलका अवसर विस्तार गर्ने बाटो खोल्नेछ ।
त्यसैगरी, ऊर्जा, यातायात, पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रका राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा कर्जा प्रवाह गर्न सक्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । उत्पादनमूलक उद्योग तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने र सहभागीलाई घरजग्गा खरिदका लागि कर्जा उपलब्ध गराउने विषयसमेत समेटिएको छ ।
विधेयकमा कोषको संस्थागत संरचनामा सुधार गर्ने प्रस्ताव पनि गरिएको छ । सञ्चालक समितिको संरचना, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार तथा संस्थागत सुशासनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन खोजिएको छ । आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन र लेखा प्रणालीलाई आधुनिक तथा व्यवस्थित बनाउने प्रावधानसमेत संशोधन प्रस्तावमा राखिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार कोषको कार्यकारी निर्देशकको कार्यकाल चार वर्षको हुनेछ र एक पटक पुनः नियुक्त हुन सक्नेछ । सञ्चालक समितिको जिम्मेवारी तथा अधिकार प्रत्यायोजनसम्बन्धी व्यवस्था पनि थप स्पष्ट पारिएको छ । यसले कोषको सञ्चालन, व्यवस्थापन र जवाफदेहितालाई व्यवस्थित बनाउने उद्देश्य राखेको छ ।
नागरिक लगानी कोषले सर्वसाधारणको बचत परिचालन, अवकाश कोष व्यवस्थापन तथा विभिन्न लगानी योजनामार्फत पुँजी बजार र अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ । बदलिँदो वित्तीय बजारमा कोषको भूमिका विस्तार गर्न कानुनी तथा संस्थागत संरचना अद्यावधिक गर्न आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ हाल प्रतिनिधिसभाको अर्थ समितिमा दफावार छलफलको प्रक्रियामा रहेको छ । विधेयक पारित भई कानुनी रूप लिएपछि मात्रै प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछ ।