
बैंकिङ खबर / हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । कार्ड तथा डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धि र व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो ।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । यी सम्मानले बैंकले डिजिटल भुक्तानी प्रणालीको विस्तार, कार्ड कारोबारको प्रवर्द्धन तथा भुक्तानी सेवाको विकासमा गरेको प्रयासलाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ ।
पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाले कार्ड, पीओएस टर्मिनल र अन्य विद्युतीय भुक्तानी सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएका छन् । यसै सन्दर्भमा हिमालयन बैंकले पनि आफ्नो भुक्तानी सेवा सञ्जाल विस्तार गर्दै ग्राहक तथा व्यवसायीलाई सहज, सुरक्षित र प्रविधिमैत्री कारोबारको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
भिसाबाट प्राप्त अवार्डले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ । साथै, यसबाट आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्न ऊर्जा र हौसला मिल्ने बैंकले जनाएको छ ।
हाल हिमालयन बैंकले देशभर १५७ शाखा कार्यालय र ११ विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका २७९ एटीएम सञ्चालनमा छन् भने पीओएस कारोबारका लागि ९ हजारभन्दा बढी टर्मिनल उपलब्ध गराइएको छ । त्यस्तै, बैंकले ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
शाखा सञ्जालसँगै डिजिटल तथा कार्डमा आधारित भुक्तानी पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले भिसाबाट प्राप्त यी अवार्डलाई आफ्नो सेवा तथा कारोबार विस्तारको उपलब्धिका रूपमा लिएको छ । बैंकका अनुसार प्राप्त सम्मानले आगामी दिनमा डिजिटल भुक्तानी सेवाको गुणस्तर अभिवृद्धि र ग्राहक अनुभव सुधारका लागि थप प्रेरणा प्रदान गर्नेछ ।