
बैंकिङ खबर / नबिल बैंक लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा १० शय्याको विशिष्टीकृत जलन उपचार वार्ड स्थापना गरेको छ । जलनबाट प्रभावित बिरामीलाई गुणस्तरीय उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘नबिल बर्न केयर वार्ड’ को मंगलबार उद्घाटन गरिएको हो ।
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन् ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत सहयोग गरिएको उक्त वार्डले धुलिखेल अस्पतालको जलन उपचारसम्बन्धी सेवा क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ । यसबाट जलन प्रभावित बिरामीलाई उपचार, आवश्यक शल्यक्रिया तथा दीर्घकालीन पुनर्स्थापना सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालमा जलनसम्बन्धी घटनाबाट प्रभावित बिरामीका लागि समयमै विशिष्टीकृत उपचार उपलब्ध गराउनु अझै चुनौतीपूर्ण छ । जलनका बिरामीलाई प्रारम्भिक उपचारसँगै आवश्यक शल्यक्रिया, पुनर्स्थापना र मनोसामाजिक सहयोगसमेत आवश्यक पर्ने भएकाले विशेष उपचार पूर्वाधारको विकासलाई महत्वपूर्ण मानिन्छ । धुलिखेल अस्पतालमा स्थापना गरिएको नयाँ वार्डले यस्तो उपचार सेवाको उपलब्धता विस्तार गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष चौधरीले निजी क्षेत्रले समाजका महत्वपूर्ण आवश्यकतामा योगदान पुर्याउनुपर्ने बताए । संस्थाको सफलता आर्थिक उपलब्धिमा मात्र सीमित नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो । सीमित स्वास्थ्य पूर्वाधारका कारण नागरिक गुणस्तरीय उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बैंकले अस्पतालसँग सहकार्य गरेको उनले उल्लेख गरे ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले विशिष्टीकृत जलन उपचार सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न बैंक र स्वास्थ्य संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने बताए ।
उनका अनुसार नबिल केयरले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । ती शिविरमार्फत देशका विभिन्न क्षेत्रका करिब ५०० जलन प्रभावित व्यक्तिले उपचार सेवा प्राप्त गर्ने अवसर पाएको बैंकले जनाएको छ । धुलिखेल अस्पतालमा स्थापना गरिएको वार्डलाई पनि सोही अभियानको निरन्तरताका रूपमा हेरिएको छ ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. श्रेष्ठले नबिल बैंकसँगको सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा सहयोग पुग्ने बताए । अस्पतालले ग्रामीण तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई समेत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले नयाँ वार्डले जलन उपचार सेवाको विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नबिल बैंकले ‘नबिल केयर’ मार्फत स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंक र धुलिखेल अस्पतालबीचको यो सहकार्यले वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य पूर्वाधार विकाससँग जोडेको छ ।