Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो : प्रभु बैंक सबैभन्दा जोखिममा, एभरेस्टको अवस्था राम्रो

२०८३ मंसिर ८ गते

बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.६४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ४.८६ प्रतिशत थियो । बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षमा औसत खराब कर्जा अनुपात ०.७८ प्रतिशत बिन्दुले बढेको हो । २० वाणिज्य बैंकमध्ये १२ वटाको खराब कर्जा अनुपात बढेको छ भने ८ वटाले सुधार गरेका छन् ।

खराब कर्जाको सबैभन्दा बढी दबाब प्रभु बैंकमा देखिएको छ । बैंकको एनपीएल अनुपात गत वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेकोमा यस वर्ष बढेर १४.८० प्रतिशत पुगेको छ । एक वर्षमै ९.०२ प्रतिशत बिन्दुको वृद्धि हुनु बैंकिङ क्षेत्रकै गम्भीर अवस्थाका रूपमा देखिएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत र कुमारी बैंकको ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ । हिमालयन बैंकको खराब कर्जा ७.९८ प्रतिशत र प्राइम कमर्सियल बैंकको ७.१५ प्रतिशत पुगेको छ । यी बैंकहरूमा पनि खराब कर्जाको दबाब देखिएको छ ।

यता, एभरेस्ट बैंकले भने सबैभन्दा कम खराब कर्जा कायम गरेको छ । बैंकको एनपीएल अनुपात गत वर्षको ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशतमा झरेको छ । सानिमा बैंकले पनि ३.९१ प्रतिशतबाट घटाएर २.८६ प्रतिशतमा ल्याएको छ । नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंकले पनि खराब कर्जा अनुपात घटाएका छन् ।

रोचक पक्ष के छ भने बैंकहरूको खराब कर्जा बढिरहेका बेला नाफा भने उल्लेख्य रूपमा बढेको छ । पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब १५ करोड रुपैयाँ थियो । यसअनुसार बैंकहरूको खुद नाफा ४५.५९ प्रतिशतले बढेको देखिन्छ ।

तर बैंकहरूको खुद ब्याज आम्दानी भने ०.९७ प्रतिशतले मात्रै बढेको छ । अर्कोतर्फ, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम अघिल्लो वर्षको २० अर्ब १४ करोड रुपैयाँबाट घटेर ११ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । अर्थात्, बैंकहरूको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाको खर्च घट्नुको महत्वपूर्ण योगदान देखिन्छ ।

अझै महत्वपूर्ण कुरा, २० बैंकको कुल वितरणयोग्य नाफा ९ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक छ । खुद नाफा बढे पनि लाभांश वितरण गर्न सक्ने वास्तविक क्षमतामा भने बैंकिङ क्षेत्र दबाबमै रहेको देखिन्छ ।

बैंकहरूको खराब कर्जा बढ्नुले ऋण असुली, कर्जा प्रवाहको गुणस्तर र व्यवसायको अवस्थामाथि प्रश्न उठाएको छ । बैंकहरूले नाफा बढाएको तथ्यांक सार्वजनिक भइरहँदा खराब कर्जाको बढ्दो अनुपातलाई नियन्त्रण गर्न नसके आगामी दिनमा वित्तीय स्थायित्व र कर्जा विस्तार दुवैमा चुनौती थपिन सक्ने देखिन्छ ।

Ad