Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

चार महिनामा बैंकहरूको कर्जा १ खर्ब ४८ अर्बले बढ्यो, ग्लोबल आइएमई पहिलो

२०८३ मंसिर ६ गते

बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल कर्जा लगानी गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्म बढेर ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा कर्जा विस्तार गर्ने बैंकमध्ये ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चार महिनामा ३० अर्ब ७१ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ । गत असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको कुल कर्जा लगानी कात्तिक मसान्तसम्म ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, नबिल बैंक कर्जा विस्तारमा दोस्रो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा १७ अर्ब ५९ करोड रुपैयाँ कर्जा थप गरेको छ । गत असार मसान्तमा ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ रहेको नबिलको कर्जा लगानी कात्तिक मसान्तसम्म ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यससँगै ग्लोबल आइएमई र नबिल दुवै बैंकको कर्जा लगानी ५ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

कर्जा विस्तारमा लक्ष्मी सनराइज बैंक र कुमारी बैंक पनि अगाडि देखिएका छन् । लक्ष्मी सनराइज बैंकले चार महिनामा १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा लगानी ३ खर्ब ३६ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, कुमारी बैंकले १८ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ३ खर्ब २१ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको छ ।

यस अवधिमा सिद्धार्थ बैंकले १२ अर्ब १४ करोड रुपैयाँ, एभरेस्ट बैंकले ११ अर्ब रुपैयाँ र माछापुच्छ्रे बैंकले ९ अर्ब २९ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । हिमालयन बैंकको कर्जा ७ अर्ब ४ करोड रुपैयाँले बढेको छ भने सिटिजन्स बैंकले ६ अर्ब ८० करोड रुपैयाँ र एनएमबी बैंकले ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

त्यस्तै, प्राइम बैंकले ६ अर्ब ५० करोड रुपैयाँ, नेपाल बैंकले ५ अर्ब ९२ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ, सानिमा बैंकले ३ अर्ब ६ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

कर्जा लगानी बढाउने बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको वृद्धि सबैभन्दा कम देखिएको छ । बैंकले चार महिनामा १ अर्ब ९ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा लगानी ७१ अर्ब ९१ करोड रुपैयाँ पुर्‍याएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानीमा भने सामान्य वृद्धि भएको छ ।

यद्यपि, सबै बैंकको कर्जा लगानी बढेको छैन । समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १८ वटाको कर्जा विस्तार हुँदा प्रभु बैंक र एनआईसी एसिया बैंकको कर्जा लगानी घटेको छ । प्रभु बैंकको कर्जा ५ अर्ब ४४ करोड रुपैयाँले घटेर २ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको कर्जा ५ अर्ब १३ करोड रुपैयाँले घटेर २ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।

समग्रमा वाणिज्य बैंकहरूको कर्जा लगानीमा वृद्धि देखिए पनि बैंकहरूबीच कर्जा विस्तारको अवस्था भने समान छैन । केही ठूला बैंकले उल्लेख्य मात्रामा कर्जा विस्तार गरिरहेका बेला दुई बैंकको कर्जा लगानी घटेको तथ्यांकले देखाएको छ ।

बैंकिङ क्षेत्रमा कर्जा विस्तारको वृद्धिसँगै त्यसको गुणस्तर, कर्जा उपयोग भएको क्षेत्र र असुलीको अवस्थालाई समेत महत्त्वका साथ हेर्नुपर्ने देखिन्छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढ्न सकेमा यसले निजी क्षेत्रको लगानी, व्यवसाय विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउन सक्छ ।

Ad