बैंकिङ खबर / नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा एउटा रोचक तथ्य देखिएको छ । गत आर्थिक वर्षमा केन्द्रीय बैंकको सञ्चालक समितिका ६४ वटै बैठकमा सहभागी हुने सञ्चालक एक जना मात्रै रहेका छन् । तर बैठक भत्ता र अन्य सुविधामा भने समितिका पदाधिकारी तथा सदस्यहरूले लाखौँ रुपैयाँ बुझेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा सञ्चालक समितिका सबै ६४ बैठकमा उपस्थित हुने एक मात्र सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डे हुन् । उनले बैठक भत्ताबापत मात्रै ५ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । सरकारले नियुक्त गरेका तीन सञ्चालकमध्ये उनले सबैभन्दा बढी बैठक भत्ता प्राप्त गरेका हुन् ।
पाण्डेले बैठक भत्ताबाहेक अन्य भत्ता तथा सुविधाबापत २३ लाख ३५ हजार रुपैयाँसमेत बुझेका छन् । यसरी उनले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट करिब २९ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सरकारबाट नियुक्त अर्का सञ्चालक चिन्तामणि सिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ बुझेका छन् । उनले अन्य भत्ता तथा सुविधाबापत १८ लाख २४ हजार रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
त्यस्तै, सञ्चालक डा. शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत १८ लाख २४ हजार रुपैयाँ बुझेका छन् ।
सञ्चालक समितिको अध्यक्षता गर्ने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गत आर्थिक वर्षमा तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनले बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकका अनुसार उनको वार्षिक कुल आम्दानी ४६ लाख ४८ हजार ९५६ रुपैयाँ रहेको छ ।
त्यस्तै, अर्थ सचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ३ लाख ४८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार रुपैयाँ तलब, २ लाख २५ हजार रुपैयाँ बैठक भत्ता र ४६ लाख ८ हजार ४१५ रुपैयाँ अन्य भत्ता तथा सुविधा बुझेका छन् । उक्त रकममा कार्यकारी निर्देशक हुँदाको तलब तथा भत्तासमेत समावेश रहेको राष्ट्र बैंकले जनाएको छ ।
पूर्वडेपुटी गभर्नर डा. निलम ढुङ्गानाले ८ लाख ४९ हजार रुपैयाँ तलब, २ लाख ३४ हजार रुपैयाँ बैठक भत्ता र ४२ लाख ३५ हजार ७११ रुपैयाँ अन्य भत्ता तथा सुविधा प्राप्त गरेकी छन् । अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले ९ लाख ४९ हजार रुपैयाँ तलब, २ लाख ७० हजार रुपैयाँ बैठक भत्ता र ३८ लाख ९७ हजार ५११ रुपैयाँ अन्य भत्ता तथा सुविधा बुझेका छन् ।
राष्ट्र बैंकका अनुसार सञ्चालक समिति बैठकमा सहभागी भएबापत प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता उपलब्ध गराइन्छ । गत आर्थिक वर्षमा सञ्चालक समितिका लागि मात्रै ४८ लाख ९६ हजार १०० रुपैयाँ तलब, ३४ लाख २० हजार रुपैयाँ बैठक भत्ता र २ करोड १५ लाख ९७ हजार रुपैयाँ अन्य भत्ता तथा सुविधामा खर्च भएको छ । यसरी राष्ट्र बैंकको सञ्चालक समितिका बैठक, उपस्थिति र त्यसबापत हुने खर्चको विवरणले सार्वजनिक निकायका पदाधिकारीको जिम्मेवारी, बैठकमा सहभागिता र संस्थागत खर्चको पारदर्शितामाथि चासो बढाएको छ ।