
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ खुद आय आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद आय ३.८४ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले आफ्नो खुद आयबाट विभिन्न वैधानिक तथा अन्य कोषमा आवश्यक रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकले ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद आय आर्जन गरेको थियो । त्यस वर्ष पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै उपलब्ध गराएको थियो ।
राष्ट्र बैंकको आय बढ्नुमा विदेशी मुद्रा सञ्चितिबाट प्राप्त ब्याज आम्दानीमा भएको सुधार प्रमुख कारण देखिएको छ । गत आर्थिक वर्ष विदेशी मुद्राबाट हुने खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २३ प्रतिशत बढी हो । नेपालमा रेमिट्यान्स आप्रवाह बढ्नु र आयातमा सुधार आउनुका कारण विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढेको छ । २०८३ असार मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा विदेशी मुद्रा सञ्चिति ४५.६ प्रतिशतले बढेको हो ।
विदेशी मुद्रा सञ्चिति बढेसँगै राष्ट्र बैंकले विदेशी मुद्रालाई विभिन्न अन्तर्राष्ट्रिय वित्तीय उपकरण, बैंकहरूको निक्षेप, ट्रेजरी बिल्स तथा बन्डमा लगानी गर्दै आएको छ । त्यस्ता लगानीबाट प्राप्त ब्याज आम्दानी राष्ट्र बैंकको आयको प्रमुख स्रोत बनेको छ । यद्यपि, वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा स्वदेशी मुद्राबाट हुने ब्याज आम्दानी भने कमजोर बनेको छ । गत आर्थिक वर्ष स्वदेशी मुद्रामा हुने खुद ब्याज आम्दानी २२ अर्ब रुपैयाँले ऋणात्मक रहेको राष्ट्र बैंकको वित्तीय विवरणले देखाएको छ ।
त्यस्तै, सुनचाँदीको मूल्यमा भएको वृद्धिबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ बराबरको लाभ प्राप्त गरेको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनबाट समेत २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको पुनर्मूल्यांकन लाभ देखिएको छ । तर, विदेशी मुद्रा तथा सुनचाँदीको मूल्यमा आएको परिवर्तनबाट प्राप्त पुनर्मूल्यांकन लाभलाई नगद आम्दानीका रूपमा बुझ्न मिल्दैन । त्यस्तो लाभ सम्पत्तिको मूल्यांकनमा भएको परिवर्तन हो ।
राष्ट्र बैंकले आफ्नो खुद आयबाट मौद्रिक दायित्व सञ्चिति, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष तथा अन्य आवश्यक कोषमा रकम छुट्याएपछि बाँकी रहेको रकम सरकारलाई उपलब्ध गराउने व्यवस्था छ । गत आर्थिक वर्ष नेपाल सरकारले अन्य प्राप्तिसमेत गरी १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सोही अवधिमा सरकारी खर्च भने १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको थियो । सरकारी राजस्व र खर्चबीचको अन्तर व्यवस्थापनमा राष्ट्र बैंकबाट प्राप्त हुने ४२ अर्ब रुपैयाँले समेत योगदान गर्नेछ ।