Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

दसैँको सन्देशमा नागरिकको आर्थिक समृद्धिलाई प्राथमिकता

२०८३ कार्तिक १ गते

बैंकिङ खबर /  प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक अभावका कारण दसैँजस्तो पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका छन् । बडादसैँको अवसरमा शुभकामना दिँदै उनले नागरिकको आर्थिक अवस्था बलियो बनाउन सके मात्रै चाडपर्वको खुसी सबैको घरसम्म पुग्ने बताएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने र नागरिकको जीवनस्तर सुधार गर्ने काममा सरकार केन्द्रित रहेको बताएका छन् । उनका अनुसार नागरिकको आर्थिक सम्पन्नता नै चाडपर्वको वास्तविक खुसीसँग जोडिएको विषय हो ।

‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन,’ प्रधानमन्त्री शाहले भनेका छन् । दसैँका बेला परिवारसँग भेटघाट, यात्रा र किनमेल बढ्ने भएकाले आमनागरिकको आर्थिक अवस्थाले पर्वको उत्साहमा प्रत्यक्ष प्रभाव पार्छ । यही अवस्थालाई संकेत गर्दै प्रधानमन्त्रीले आर्थिक कारणले पर्व मनाउन कठिन हुने परिस्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले देशमा आर्थिक अवसर विस्तार गर्दै नागरिकलाई स्वदेशमै सम्मानजनक रूपमा जीवनयापन गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक समृद्धिसँगै सुशासनलाई अघि बढाउनु सरकारको प्रमुख जिम्मेवारी रहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई पनि दसैँको सन्दर्भमा उठाएका छन् । गाउँघर रित्तिँदै गएको र रोजगारीका लागि विदेशिएका धेरै नेपालीले चाडपर्वमा समेत परिवारसँग समय बिताउन नपाएको उनले उल्लेख गरेका छन् ।

परिवारसँगै बसेर दसैँ मनाउने चाहना हुँदाहुँदै पनि आर्थिक बाध्यताका कारण विदेशमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन् । स्वदेशमा रोजगारी र आम्दानीका अवसर बढाउन सके मात्रै यस्तो बाध्यता कम गर्न सकिने उनको सन्देश छ ।

दसैँलाई प्रधानमन्त्रीले धार्मिक पर्वसँगै पारिवारिक मिलन र सामाजिक एकताको अवसरका रूपमा पनि उल्लेख गरेका छन् । देशभित्र रहेका नेपालीसँगै विदेशमा रहेका नेपाली समुदायलाई समेत भावनात्मक रूपमा जोड्ने पर्वका रूपमा उनले दसैँको महत्व स्मरण गरेका छन् । यस वर्ष विभिन्न क्षेत्रमा भएका विपद्का घटनालाई पनि प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा समेटेका छन् । रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

विपद्का कारण विस्थापित भएका नागरिकको पुनःस्थापना र प्रभावितको उपचार तथा सहयोगका लागि सरकारले काम गरिरहेको उनले बताएका छन् । शोक र पीडामा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्रीले राज्य प्रभावित नागरिकको साथमा रहेको सन्देश दिएका छन् । दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई सकारात्मक सोच र सत्यको बाटोमा अघि बढ्न आह्वान गरेका छन् । काम, क्रोध, लोभ, ईर्ष्या र अहंकारजस्ता नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न उनले शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीको यस वर्षको दसैँ सन्देशमा पर्वको सांस्कृतिक महत्वसँगै नागरिकको आर्थिक अवस्था, रोजगारी, स्वदेशमै अवसर सिर्जना र सुशासनलाई जोड दिइएको छ । आर्थिक रूपमा सक्षम नागरिकले मात्रै पर्वको खुसी पूर्ण रूपमा अनुभूति गर्न सक्ने भएकाले समृद्धि र नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने उनको सन्देश छ ।