
बैंकिङ खबर/ लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले करसहित ५ करोड ३८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।कम्पनीको साधारणसभा २०८३ असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कार्यरत एनबीएसएम एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकमा निरन्तरता दिने निर्णयसमेत सभाले गरेको छ ।कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रति सेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको छ । वितरणयोग्य आम्दानीका आधारमा सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित भएको हो ।
म्युचुअल फन्ड सञ्चालनमा सक्रिय
लक्ष्मी सनराइज क्यापिटलले नेपालको पुँजी बजारमा मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा विस्तारमा लामो समयदेखि योगदान दिँदै आएको छ । कम्पनीका अनुसार यसले हाल छवटा बन्दमुखी र एउटा खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गरिरहेको छ ।कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी म्युचुअल फन्ड र करिब ७ अर्ब रुपैयाँ बराबरका सातवटै म्युचुअल फन्ड सफलतापूर्वक सञ्चालन गर्दै आएको जनाएको छ ।
त्यस्तै, कम्पनीअन्तर्गत एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले दिगो ऊर्जासम्बन्धी क्षेत्रमा लगानी गर्दै आएको छ । उक्त फन्डले निर्धारित लक्ष्यअनुसार पुँजी संकलन गरी नवीकरणीय तथा दिगो ऊर्जासँग सम्बन्धित क्षेत्रमा लगानी अघि बढाइरहेको कम्पनीले जनाएको छ ।
दिगो र उत्तरदायी लगानीमा जोड
लक्ष्मी सनराइज क्यापिटलले लगानीबाट सिर्जना हुने सामाजिक तथा वातावरणीय प्रभावलाई महत्त्व दिने लगानीसम्बन्धी सिद्धान्तमा आबद्ध भएको जनाएको छ । कम्पनीका अनुसार यो ‘अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट’ (इम्प्याक्ट प्रिन्सिपल्स) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो ।
उक्त सिद्धान्तले लगानी प्रक्रियामा सामाजिक तथा वातावरणीय प्रभावलाई समेट्दै पारदर्शिता, अनुशासन र विश्वसनीयता प्रवर्द्धन गर्ने लक्ष्य राख्छ । यसमा आबद्धताले दिगो तथा उत्तरदायी लगानीप्रतिको कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
नगद लाभांश पारित भएसँगै कम्पनीले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै, म्युचुअल फन्ड सञ्चालन र दिगो ऊर्जासम्बन्धी लगानीमार्फत पुँजी बजार तथा लगानीका विविध क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।