Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास लघुवित्तको पुरानो लाभांश लिन आग्रह, यस्तो छ प्रक्रिया

२०८३ आश्विन २८ गते

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखि नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई आफ्नो लाभांश लिन आग्रह गरेको छ । संस्थामा गाभिएको साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न वार्षिक साधारणसभाबाट पारित लाभांश अझै केही सेयरधनीले नबुझेपछि संस्थाले यस्तो आग्रह गरेको हो ।

संस्थाको आधिकारिक सूचनाअनुसार आर्थिक वर्ष २०६१/६२ देखि आर्थिक वर्ष २०७५/७६ सम्मका विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांश बुझ्न बाँकी छ । सम्बन्धित सेयरधनीले आफ्नो नाममा लाभांश बाँकी भए नभएको यकिन गरी रकम प्राप्त गर्ने प्रक्रिया अघि बढाउन सक्नेछन् ।

लाभांश बुझ्न बाँकी रहेका सेयरधनीले संस्थाको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । संस्थाले यसअघि सार्वजनिक गरेको आधिकारिक सूचना तथा सेयरधनीको सूची मा सम्बन्धित विवरण हेर्न सकिन्छ ।

लाभांश प्राप्त गर्न सेयरसम्बन्धी विवरण र बैंक खाता अद्यावधिक हुनु आवश्यक छ । हालसम्म कागजी रूपमा रहेका सेयर प्रमाणपत्र डिम्याट नगरेका सेयरधनीले आफ्नो निक्षेप सदस्य (डीपी) मार्फत सेयर अभौतिकीकरण गराउनुपर्नेछ । त्यस्तै, डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक नभएका सेयरधनीले सम्बन्धित निक्षेप सदस्यको कार्यालयमा गई विवरण अद्यावधिक गर्नुपर्नेछ ।

धितोपत्र रोक्का रहेका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त फुकुवापत्र वा अनापत्ति पत्र (नो अब्जेक्सन लेटर) सेयर रजिस्ट्रारसमक्ष बुझाउनुपर्नेछ । आवश्यक कागजात पूरा गरी आफ्नो विवरण अद्यावधिक गरेपछि लाभांश प्राप्त गर्ने प्रक्रिया अघि बढाउन सकिनेछ ।

पाँच वर्ष पुरानो लाभांशको व्यवस्था

कम्पनी ऐन, २०६३ को दफा १८२(९) तथा दफा १८३(१) मा रहेको व्यवस्थाअनुसार पाँच वर्षसम्म दाबी नगरिएको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । साना किसान विकास लघुवित्तले पनि पाँच वर्षको अवधि पूरा भइसकेको नगद लाभांश उक्त कोषमा जम्मा गरिने जनाएको छ ।

त्यसैले पुरानो लाभांश लिन बाँकी रहेका सेयरधनीले आफ्नो नाम आधिकारिक सूचीमा छ कि छैन जाँच गरी आवश्यक प्रक्रिया समयमै पूरा गर्नु उपयुक्त हुन्छ । लाभांशसम्बन्धी थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट वा सेयर रजिस्ट्रारसँग सम्पर्क गर्न सकिनेछ ।