Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

१४ वाणिज्य बैंकको निक्षेप बढ्यो, ६ वटाको घट्यो

२०८३ आश्विन १४ गते

बैंकिङ खबर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप बढेको छ भने ६ वटा बैंकको निक्षेप घटेको छ । उपलब्ध बैंकगत विवरणअनुसार असार मसान्तको तुलनामा भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो ।

असार मसान्तमा २० वाणिज्य बैंकसँग कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप रहेकोमा भदौ मसान्तसम्म बढेर ७५ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । दुई महिनामा बैंकहरूको कुल निक्षेप करिब ०.९ प्रतिशतले वृद्धि भएको हो ।

निक्षेपको आकारका आधारमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकको निक्षेप असार मसान्तको ७ खर्ब ४४ करोड रुपैयाँबाट बढेर भदौ मसान्तमा ७ खर्ब १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको ६ खर्ब ९३ अर्ब ८६ करोड र नबिल बैंकको ६ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ निक्षेप रहेको छ ।

दुई महिनाको अवधिमा निक्षेप बढाउने बैंकमध्ये नबिल बैंक अगाडि देखिएको छ । बैंकको निक्षेप १८ अर्ब ६८ करोड रुपैयाँले बढेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको निक्षेप १६ अर्ब ३५ करोड र कुमारी बैंकको १५ अर्ब २६ करोड रुपैयाँले वृद्धि भएको छ । एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ ।

यस अवधिमा ६ वटा बैंकको निक्षेप भने घटेको छ । सबैभन्दा धेरै निक्षेप घट्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको निक्षेप १३ अर्ब ९० करोड रुपैयाँले घटेको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको निक्षेप ९ अर्ब ३ करोड र कृषि विकास बैंकको ८ अर्ब ९० करोड रुपैयाँले घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबी बैंकको निक्षेप पनि असार मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ ।

समग्रमा बैंकिङ प्रणालीमा निक्षेप भने बढेको देखिए पनि बैंकअनुसार निक्षेप संकलनको अवस्था फरक–फरक रहेको छ । केही बैंकले दुई महिनामै दोहोरो अंकको अर्ब रुपैयाँले निक्षेप बढाउँदा केही बैंकमा भने निक्षेप संकुचन देखिएको छ ।