
बैंकिङ खबर / नेपाल वित्तीय संस्था संघको नेतृत्व परिवर्तन भएको छ । सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ संघको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । साधारण सभाबाट अघिल्लो कार्यकालका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै नयाँ कार्यकालका लागि पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया चयन भएका छन् । यसअघि महासचिवको जिम्मेवारीमा रहेका थपलियाले नयाँ कार्यसमितिमा उपाध्यक्षको भूमिका पाएका हुन् । महासचिवमा भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी चयन भएका छन् । उपलब्ध विवरणअनुसार कार्यसमितिका थप दुई सदस्य भने मनोनित हुन बाँकी छन् ।
यससँगै संघको अघिल्लो नेतृत्वको कार्यकाल समाप्त भएको छ । निवर्तमान अध्यक्ष सुनिल पन्तले संघको नेतृत्व गर्दै वित्तीय संस्थाका साझा विषयलाई संस्थागत रूपमा अघि बढाउन भूमिका निर्वाह गरेको संघले जनाएको छ ।
नयाँ कार्यसमितिले वित्तीय संस्थाबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । सदस्य वित्तीय संस्थाका साझा समस्या र सरोकारलाई सम्बन्धित निकायसमक्ष उठाउने तथा वित्तीय क्षेत्रको विकासका विषयमा नेपाल राष्ट्र बैंक, नेपाल सरकारलगायत सरोकारवाला निकायसँग समन्वय गर्ने नयाँ नेतृत्वको प्राथमिकता रहनेछ ।
संघमा हाल विभिन्न १६ वित्त कम्पनी आबद्ध रहेको विवरणसमेत सार्वजनिक भएको छ । वित्त कम्पनीहरूले सामना गरिरहेका नीतिगत तथा व्यावसायिक विषयमा साझा धारणा निर्माण गरी सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्नु संघको प्रमुख भूमिकामध्ये एक हो ।
नयाँ नेतृत्व चयनसँगै वित्त कम्पनी क्षेत्रका साझा मुद्दा, नियामकीय व्यवस्था तथा संस्थागत सहकार्यका विषयमा संघले आगामी दिनमा कसरी पहल गर्छ भन्ने चासो बढेको छ ।