
बैंकिङ खबर / वातावरण तथा जलवायु अनुकूल विकासका लागि वित्तीय स्रोत परिचालन गर्ने उद्देश्यले एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच सहकार्य भएको छ ।
दुवै संस्थाले दिगो तथा जलवायु विकासलाई केन्द्रमा राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सहकार्यमार्फत नेपालमा हरित वित्तसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने तथा दिगो लगानीका नयाँ सम्भावना खोज्ने लक्ष्य राखिएको छ ।
समझदारीअनुसार इसिमोडसँग रहेको पर्वतीय क्षेत्र, जलवायु परिवर्तन, अनुसन्धान तथा प्राविधिक क्षेत्रमा प्राप्त ज्ञान र अनुभवलाई बैंकिङ क्षेत्रसँग जोड्ने प्रयास गरिनेछ । बैंकले आफ्नो वित्तीय विशेषज्ञतामार्फत यस्ता ज्ञान र समाधानलाई सम्भावित वित्तीय अवसर तथा लगानीसँग जोड्न सहयोग गर्नेछ ।
यसबाट वातावरण संरक्षणसँग सम्बन्धित परियोजना, जलवायु परिवर्तनको प्रभाव घटाउने पहल तथा स्थानीय समुदायको उत्थानशीलता बढाउने गतिविधिका लागि लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकले पछिल्लो समय दिगो र जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै हरित वित्ततर्फ आफ्नो भूमिका विस्तार गर्दै आएको छ। इसिमोडसँगको नयाँ सहकार्यले वित्तीय क्षेत्र, वैज्ञानिक अनुसन्धान र दिगो विकासबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास बैंकले लिएको छ ।