Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

रसुवा बाढीको बैंकिङ क्षेत्रमा गम्भीर असर, १६ शाखा क्षतिग्रस्त, १७ करोड नगद बग्यो

२०८३ भाद्र १८ गते

काठमाडौं /  रसुवाको लेहेन्दे खोलामा भदौ १० गते आएको भीषण बाढीले बैंक तथा वित्तीय संस्थाको संरचना र कारोबारमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालित विभिन्न बैंकका शाखा कार्यालय, एटीएम, भल्ट तथा नगदमा क्षति पुगेको हो ।

प्रारम्भिक विवरणअनुसार ११ वटा वाणिज्य बैंकका १६ शाखा बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, विकास बैंक तथा लघुवित्तका केही शाखा र कार्यालयमा समेत ठूलो क्षति पुगेको छ।बाढीमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन्। विभिन्न वाणिज्य बैंकका कर्मचारीमध्ये २७ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। यस्तै, लघुवित्त संस्थाका ६ जना कर्मचारी पनि सम्पर्कमा छैनन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १२ जना कर्मचारी घाइते भएका छन् भने कृषि विकास बैंकका एक कर्मचारी पनि घाइते भएका छन् ।

बाढीबाट क्षतिग्रस्त १६ बैंक शाखामा ठूलो संख्यामा निक्षेप तथा कर्जा खाता सञ्चालनमा थिए। उपलब्ध तथ्यांकअनुसार ती शाखामा ७३ हजार २७५ निक्षेप खाता रहेका थिए, जसमा करिब ३ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ निक्षेप थियो। त्यस्तै, २ हजार २८ कर्जा खातामार्फत करिब २ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

भौतिक संरचनातर्फ बैंकहरूको प्रारम्भिक क्षति करिब ५५ करोड १६ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। कृषि विकास बैंकको त्रिशूली शाखामा मात्रै करिब ५० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। उक्त शाखाका ६४ वटा लकरसमेत बाढीबाट प्रभावित भएका छन् ।

बाढीले बैंकका भल्ट र एटीएममा रहेको नगदसमेत बगाएको छ। प्रारम्भिक विवरणअनुसार १५ वटा शाखाको भल्टमा रहेको करिब १५ करोड २ लाख रुपैयाँ नगद बाढीमा परेको छ। त्यस्तै, सातवटा बैंकका एटीएममा रहेको करिब १ करोड ७ लाख रुपैयाँ पनि जोखिममा परेको वा बगेको जनाइएको छ। यसरी शाखा, भल्ट, क्यास काउन्टर र एटीएममा रहेको गरी करिब १७ करोड रुपैयाँ नगद प्रभावित भएको छ।बाढीबाट माछापुच्छ्रे, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, एनएमबी, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, नबिललगायतका बैंकका शाखा प्रभावित भएका छन्। केही बैंकले वैकल्पिक शाखामार्फत सेवा पुनः सञ्चालन गरिसकेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार प्रभावित क्षेत्रमा विद्युत् तथा अन्य पूर्वाधारको अवस्था क्रमशः सुधार हुँदै गएपछि सम्भव भएका स्थानबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ। बैंकहरूले बेपत्ता कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर क्षतिको थप विवरण संकलन गरिरहेका छन् ।

बैंकिङ क्षेत्रको अर्को चिन्ताको विषय प्रभावित क्षेत्रमा रहेको कर्जा लगानी हो। बाढी प्रभावित क्षेत्रमा करिब ६७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना समेत प्रभावित भएका छन्। ती आयोजनामा बैंकहरूले सहवित्तीयकरणमार्फत ठूलो रकम लगानी गरेका कारण आयोजनामा भएको क्षतिले बैंकको कर्जा असुलीमा समेत दबाब पर्न सक्ने देखिएको छ ।

बाढीबाट भएको सम्पूर्ण क्षतिको विवरण भने संकलनकै क्रममा रहेको बैंकर्स संघले जनाएको छ। प्रारम्भिक तथ्यांकभन्दा वास्तविक क्षति थप बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।