काठमाडौं / विशाल ग्रुपले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ठूलो परिमाणमा सहयोग घोषणा गरेको छ ।
ग्रुपले रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रधानमन्त्री विपद् राहत कोषमा २ करोड ५१ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो।बाढीका कारण जनधनसँगै घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरिएको विशाल ग्रुपले जनाएको छ ।
नगद सहयोगसँगै ग्रुपको सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यरत भीजी फाउन्डेसनले करिब १ करोड रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री वितरण गर्ने भएको छ। फाउन्डेसनले प्रभावित परिवारका लागि ५ हजार राहत बक्स तयार गरी उपलब्ध गराउने जनाएको छ ।
राहत बक्समा खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा सरसफाइका लागि आवश्यक वस्तुहरू समावेश गरिने बताइएको छ। यस्तै, प्रभावित नागरिकलाई थप राहतस्वरूप २ हजार थान कम्बल र १ हजार थान शलसमेत उपलब्ध गराउने ग्रुपले जनाएको छ।नगद तथा राहत सामग्रीको मूल्य जोड्दा विशाल ग्रुप र भीजी फाउन्डेसनबाट तत्काल ३ करोड ५१ लाख रुपैयाँ बराबरको सहयोग हुने भएको छ। कम्बल र शलको मूल्य भने उक्त रकममा समावेश गरिएको छैन ।
ग्रुपले विपद्का कारण ज्यान गुमाएका परिवारप्रति दुःख व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई साथ दिँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।