Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख र उद्धार कोषमा ५.५५ लाख सहयोग

२०८३ भाद्र १७ गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघ–संस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित सहकारी संस्थालाई सहयोग गर्ने निर्णय गरेको हो।बैंकका अनुसार विपद्का कारण सहकारी संस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुगेकाले सेवा प्रवाहमा समस्या देखिएको छ। विनियोजित २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वय र बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मापदण्डअनुसार वितरण गरिनेछ ।

यसैबीच, बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्त सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीले स्वस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन्। उक्त रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

यस्तै, बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यले एक दिन बराबरको बैठक भत्ता सहयोग गर्ने भएका छन्। सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरिने बैंकले जनाएको छ।बैंकले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै बैंकले प्रभावित नागरिकका आधारभूत आवश्यकता शीघ्र पूरा गर्न आग्रह गरेको छ ।

सहकारी क्षेत्रको अग्रणी वित्तीय संस्थाका रूपमा बैंकले प्रभावित सहकारीको पुनःस्थापना, सेवा निरन्तरता र संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।