Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितको खोजी, उद्धार, राहत र पुनर्स्थापनाका लागि १ करोड ११ लाख सहयोग

२०८३ भाद्र १७ गते

काठमाडौं / सिटी एक्सप्रेस ग्रुपले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिका कारण विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित भएको अवस्थामा प्रभावित क्षेत्र तथा समुदायको सहयोगका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको सिटी एक्सप्रेस ग्रुपले जनाएको छ ।

संकटको यस कठिन घडीमा विपद् प्रभावित नागरिक तथा परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार तथा आफन्तलाई रकम पठाउँदा लाग्ने रेमिट्यान्स सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय समेत गरेको जनाएको छ। कम्पनीका अनुसार बाढी आएको दिनदेखि नै यो सुविधा लागू गरिएको हो ।

सिटी एक्सप्रेस ग्रुपले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।साथै, विपद्को यस संवेदनशील समयमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।