बैंकिङ खबर / रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रलाई समेत ठूलो क्षति पुर्याएको छ । बाढीबाट ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ती शाखाबाट सर्वसाधारण तथा व्यवसायीलाई प्रवाह गरिएको २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रभावित भएको छ ।
प्राप्त प्रारम्भिक विवरणअनुसार ती १६ वटा शाखामा २ हजार २८ वटा ऋण खातामार्फत कुल २ अर्ब ३३ करोड १३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो । बाढीले शाखाका भौतिक संरचना, कागजात तथा उपकरणमा क्षति पुर्याए पनि बैंकहरूको डिजिटल प्रणालीमा ग्राहक तथा कर्जासम्बन्धी अधिकांश विवरण सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
झण्डै ४ अर्ब निक्षेप पनि प्रभावित
बाढीबाट क्षतिग्रस्त १६ वटा बैंक शाखामा ७३ हजार २ सय ७५ वटा निक्षेप खाता सञ्चालनमा थिए । ती खातामा कुल ३ अर्ब ९८ करोड ८४ लाख १९ हजार रुपैयाँ निक्षेप रहेको प्रारम्भिक तथ्यांक छ ।
यसले बाढीको असर बैंकका भौतिक संरचना र नगदमा मात्रै नभई स्थानीय सर्वसाधारणको बैंकिङ पहुँच तथा वित्तीय कारोबारमा समेत परेको देखाउँछ । प्रभावित शाखाबाहेक रसुवा र नुवाकोटका अन्य क्षेत्रमा रहेका बैंक शाखाबाट भने विद्युत् तथा सञ्चार सेवा क्रमशः सुचारु भएपछि बैंकिङ सेवा पुनः सञ्चालन हुन थालेको बैंकर्स संघले जनाएको छ ।
भल्टमै थियो १५ करोडभन्दा बढी नगद
बाढीले बैंकका शाखा कार्यालय मात्र होइन, भल्ट तथा एटीएममा राखिएको नगदसमेत बगाएको छ । प्रारम्भिक विवरणअनुसार १५ वटा शाखाको भल्टमा रहेको कुल १५ करोड २ लाख १० हजार रुपैयाँ नगद बाढीमा परेको छ ।यस्तै, सात वटा बैंकका एटीएमको अवस्था अझै स्पष्ट हुन सकेको छैन । ती एटीएममा करिब १ करोड ७ लाख ५६ हजार ५ सय रुपैयाँ नगद लोड गरिएको थियो । भल्ट र एटीएममा रहेको रकमसमेत जोड्दा बैंकिङ क्षेत्रमा प्रत्यक्ष नगद क्षति १७ करोड रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुमान छ ।
कृषि विकास बैंकदेखि हिमालयनसम्म ठूलो क्षति
बाढीबाट कृषि विकास बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उक्त शाखामा करिब ५० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ । शाखामा रहेका ६४ वटा लकरसमेत बाढीबाट बगेका वा क्षतिग्रस्त भएका छन् ।शाखाको भल्टमा रहेको १ करोड ७१ लाख २१ हजार रुपैयाँ, क्यास काउन्टरमा रहेको ४२ लाख रुपैयाँ र एटीएममा रहेको ५ लाख ६५ हजार रुपैयाँसमेत बाढीमा परेको थियो ।
त्यस्तै, हिमालयन बैंकको बेत्रावती शाखाको भल्टमा रहेको करिब २ करोड ८९ लाख ६० हजार रुपैयाँ र एटीएममा रहेको ३५ लाख ४९ हजार ५ सय रुपैयाँसमेत प्रभावित भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका टिमुरे, स्याफ्रुबेसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा रहेको करोडौं रुपैयाँ पनि बाढीमा परेको प्रारम्भिक विवरण छ ।
१३ जलविद्युत् आयोजनामा बैंकको लगानी पनि जोखिममा
बाढी प्रभावित क्षेत्रमा बैंकहरूको कर्जा लगानी केवल सर्वसाधारण तथा स्थानीय व्यवसायमा मात्र सीमित छैन । प्रभावित क्षेत्रमा बैंकहरूले लगानी गरेका १३ वटा जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेका छन् ।यी आयोजनाहरूको कुल क्षमता करिब ६७५ मेगावाट रहेको छ । बैंकहरूले ती आयोजनामा सहवित्तीयकरणमार्फत अर्बौँ रुपैयाँ लगानी गरेका छन् । आयोजनाहरूमा भएको क्षतिका कारण परियोजनाको आम्दानी तथा सञ्चालन प्रभावित भए बैंकहरूको कर्जा असुलीमा समेत दबाब पर्न सक्ने देखिएको छ ।
भौतिक क्षति मात्रै ५५ करोडभन्दा बढी
प्रारम्भिक अनुमानअनुसार बाढीबाट बैंकिङ क्षेत्रको भौतिक क्षति ५५ करोड १६ लाख २८ हजार रुपैयाँ बराबर रहेको छ । यसमध्ये सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको त्रिशूली शाखामा भएको हो ।बैंक शाखाहरूमा क्षति पुगेपछि बैंकिङ कारोबारमा अवरोध आए पनि प्रभावित क्षेत्रबाहेकका शाखाबाट सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बैंकर्स संघले जनाएको छ । पूर्ण क्षतिको आधिकारिक विवरण भने थप अध्ययन तथा विवरण संकलनपछि मात्रै स्पष्ट हुने बताइएको छ ।
रसुवा र नुवाकोटमा आएको बाढीले बैंकिङ पूर्वाधारमा मात्रै क्षति पुर्याएको छैन, हजारौँ निक्षेपकर्ता र ऋणीसँग जोडिएको वित्तीय प्रणालीलाई समेत प्रभावित बनाएको छ । करिब ४ अर्ब रुपैयाँ निक्षेप र २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा जोडिएका शाखा क्षतिग्रस्त भएपछि अब प्रभावित ग्राहकको बैंकिङ सेवा र कर्जा व्यवस्थापनलाई सहज बनाउनु बैंकिङ क्षेत्रका लागि प्रमुख चुनौती बनेको छ ।