२०८२ चैत्र २४ गते

नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान

बैंकिङ खबर / राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमानको रिपोर्ट सार्वजनिक गरेको छ। अघिल्लो त्रैमासको तुलनामा मौसमी प्रभाव समायोजित वृद्धिदर २.०४ प्रतिशत रहने देखिएको छ। कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कका आधारमा यो वृद्धिदर तय गरिएको छ । यस अवधिमा अर्थतन्त्रका १८ वटा औद्योगिक क्षेत्रहरूमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । तथ्याङ्क अनुसार वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत, आवास तथा भोजन क्षेत्रमा ९.६५ प्रतिशत, र यातायात तथा भण्डारण क्षेत्रमा ५.१८ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने २.२१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। विद्युत् उत्पादनमा भएको बढोत्तरी, बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन र कर्जा प्रवाहमा भएको वृद्धि, बीमा प्रिमियम संकलनमा सुधार तथा पर्यटकीय आगमनमा पनि उत्साह देखिएको छ । पर्यटन क्षेत्रमा केही उत्साह देखिँदा कृषि क्षेत्रमा भने अबस्था कम्जोर देखिएको छ । धानको उत्पादनमा केही कमी आए पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रलाई सकारात्मक बनाएको कार्यालयले जनाएको छ। तथापी समग्र आर्थिक गतिविधिमा भने सुधार आएको बताइएको छ ।