
बैंकिङ खबर/पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिक वा विदेशमा बसेका नेपालीलाई पनि सरकारी नियुक्तिमा समावेश गर्नुपर्ने सुझाव दिएका छन्।
संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले विदेशमा कम्पनीहरूको नेतृत्व विदेशी नागरिकले गर्दा ती कम्पनीहरू सबल बनेको अनुभव उल्लेख गर्दै नेपालमा पनि त्यस्तै अभ्यास गर्न सकिने बताए।
उनले भने, “वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएको अवस्थामा विदेशी विशेषज्ञहरूलाई करारमा ल्याएर व्यवस्थापन सुधारिएको थियो। त्यसपछि नेपालीहरूले नै नेतृत्व गरे। त्यस्तै सरकारी निकायमा पनि योग्य विदेशी नागरिक वा विदेशमा बसेका नेपालीलाई ल्याएर संस्थाहरूलाई माथि उठाउन सकिन्छ।”
महतले वैकल्पिक वित्त कोषको व्यवस्थापनका लागि नियुक्त हुने सीईओ देश-विदेश दुवैको अनुभव भएको हुनु आवश्यक रहेको बताए। उनले यस क्रममा ग्रिन कार्डधारी वा विदेशी नागरिकता भएका योग्य व्यक्तिहरू पनि नियुक्तिमा बाधा नहुनुपर्ने प्रस्ताव राखेका छन्।
पूर्वअर्थमन्त्री महतले थपे, “अमेरिका र युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरी नेतृत्वमा छन्। योग्य र जिम्मेवार भएमा बोर्डले मूल्याङ्कन गर्छ। सीईओले काम नगरे बोर्डले हटाउने अधिकार राख्छ। वैकल्पिक वित्त कोषलाई पनि यही अवधारणामा अघि बढाउनुपर्छ।”



