
बैंकिङ खबर/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभावका कारण राज्यले पूर्वाधार आयोजनामा आवश्यक लगानी गर्न नसकेको बताएका छन्। सोमबार अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि भएको छलफलमा उनले भने, “अहिले राज्यले पूर्वाधारमा लगानी गर्न सक्ने अवस्था छैन।”
उनका अनुसार, स्रोत जुटाउन र आयोजना कार्यान्वयन गर्न ट्रेजरी बाहिर वैकल्पिक वित्तको कानुन ल्याउनु आवश्यक रहेको हो। “प्रतिफल दिने आयोजनामा ट्रेजरीभन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक महत्त्वपूर्ण हुनेछ,” उनले जोड दिए।
पौडेलले वैकल्पिक वित्तको कानुन बनेपछि खानी, मल कारखाना, आइटी लगायतका क्षेत्रहरूमा स्रोत परिचालन गरी ठूला पूर्वाधार आयोजना अगाडि बढाउन सकिने बताए। यसले स्रोत अभावका कारण रोकिएका पूर्वाधार विकास कार्यहरूलाई सहज बनाउन सहयोग पुग्ने उनले बताए।



