
बैंकिङ खबर/ सरकारले ३५ अर्ब रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसहित मन्त्रिपरिषद्बाट विभिन्न १८ वटा निर्णय पारित भएका छन्।
साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले रानी जमरा कुलरिया सिंचाइ आयोजनाको तेस्रो चरणको लागि १३ करोड ७० लाख अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड रुपैयाँ) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो। उक्त रकम विश्व बैंकबाट प्राप्त हुनेछ।
त्यसैगरी, विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरणका लागि पनि सरकारले विश्व बैंककै अन्तर्राष्ट्रिय विकास संस्थाबाट थप १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यसमा ८ करोड ६७ लाख अमेरिकी डलर छोटो समयको ऋण र ३ करोड ३३ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण समावेश छन्।
यी योजनाबाट देशको सिँचाइ प्रणाली र विद्युत आपूर्तिमा उल्लेखनीय सुधार आउने सरकारको विश्वास छ। बैठकमा भएका अन्य १६ निर्णयहरू भने मन्त्रालयगत रुपमा क्रमशः सार्वजनिक गरिने जनाइएको छ।



