
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबै तहमा रहेका सार्वजनिक पदाधिकारीहरू कानूनी दायराभन्दा बाहिर नरहेको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले कहीँकतै आर्थिक अनियमितता वा भ्रष्टाचार देखिएमा कारबाही हुने बताएका हुन्।
“भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ,” प्रधानमन्त्री ओलीले भने, “तर केही मानिसहरूको फेसन बनेको छ—प्रधानमन्त्रीलाई लाञ्छना लगाउनैपर्ने, अनावश्यक हल्ला फैलाउनैपर्ने।”
उनले सामाजिक सञ्जालमा आएका स्ट्याटस वा हल्लाको भरमा छानबिन र कारबाही नहुने उल्लेख गरे। “कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा कारबाही हुँदैन। गम्भीर प्रश्न उठेमा भने सरकार जिम्मेवार हुन्छ,” ओलीको भनाइ थियो।
पशुपतिनाथ क्षेत्रको सुन प्रकरणलाई लिएर आएका आरोपहरूप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पनि हल्ला मात्रै भएको बताए। “कहिले भन्छन्—सुन भनेर पित्तल चढायो रे। अब त्यो फेसन हो—हल्ला गर्नुपर्ने, नत्र चित्तै दुख्ने,” उनले भने।
प्रधानमन्त्री ओलीले कुनै पनि तहका सरकार र जिम्मेवार व्यक्तिहरू कानुनको दायराभित्रै रहेर काम गर्नुपर्नेमा जोड दिए।




