
बैंकिङ खबर/आर्थिक वर्ष २०८१/८२ मा नेपालले अन्य मुलुकहरूसँग गर्ने व्यापारमा १९.२४ प्रतिशतको वृद्धि गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार यो वर्ष नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको थियो। यस वर्ष निर्याततर्फ पनि ऐतिहासिक वृद्धि भएको छ। विभागका अनुसार नेपालबाट २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो।
अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको मात्र निर्यात भएको थियो। निर्यातमा आएको यो वृद्धिलाई नेपालका व्यापारिक इतिहासकै सबैभन्दा उच्च निर्यात का रूपमा लिइएको छ। आयात र निर्यात दुबै बढेसँगै देशको समग्र वैदेशिक व्यापार परिमाण उल्लेखनीय रूपमा विस्तार भएको देखिएको छ।


