Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यो वर्ष अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष : प्रचण्ड

२०८२ असार ३० गते

बैंकिङ खबर/ प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चालु आर्थिक वर्षलाई ‘अवसर खेर फालिएको’ वर्ष बनाएको आरोप लगाएका छन्।

उनले अघिल्लो सरकारले सुरु गरेका योजनाबाट मात्र केही परिणाम देखिएको उल्लेख गर्दै वर्तमान सरकारले आफैंले कुनै उल्लेखनीय उपलब्धि गर्न नसकेको दाबी गरे। “रोजगारी सिर्जना हुन सकेन, त्यसैले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो,” प्रचण्डले भने, “त्यसैले रेमिट्यान्स बढ्नु सरकारको उपलब्धि होइन, समस्या हो। तर सरकार त्यसलाई नै भ्रमका रूपमा प्रस्तुत गर्न खोज्दैछ।”

कर्जामा निष्क्रियता, पूँजी पलायनको जोखिम

प्रचण्डले ब्याजदर घटे पनि कर्जा प्रवाह नबढ्नु, बैंकमा ६–७ खर्ब रुपैयाँ थुप्रिनु, जस्ता तथ्यांक उल्लेख गर्दै सरकारले स्रोत साधनको उचित उपयोग गर्न नसकेको बताए।

उनले सरकारको अदक्ष नीति र रणनीतिक अभावका कारण पूँजी पलायनको जोखिम बढेको, बचत निरुत्साहित भएको, र कमजोर प्रतिफल दिने क्षेत्रमा लगानी भई आर्थिक संकट गहिरिन सक्ने खतरा औंल्याए।

प्रचण्डको भनाइमा, सरकारले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना, र दीगो विकास जस्ता आधारभूत आर्थिक पक्षलाई बेवास्ता गर्दै घरजग्गा र सेयर बजारमा मात्र ध्यान केन्द्रित गरेको छ, जुन दीर्घकालीन दृष्टिमा अर्थतन्त्रका लागि घातक हो।

“राष्ट्रिय अर्थतन्त्र उत्पादनमा आधारित नभई सम्पत्ति कारोबारमा मात्र केन्द्रीत भयो भने, त्यो दीर्घकालीन रूपमा संकटको बिन्दुमा पुर्‍याउँछ,” उनले चेतावनी दिए।