२०८२ असार २६ गते

एक वर्षमा अर्थतन्त्र ४ खर्बले बढ्यो, राजस्व र निर्यातमा उल्लेख्य सुधार

बैंकिङ खबर/ नेपालको अर्थतन्त्र एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले विस्तार भएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको मुलुकको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँमा पुगेको छ।

यस अवधिमा राजस्व संकलनमा १ खर्ब ८ अर्ब रुपैयाँको वृद्धि भएको छ भने पुँजीगत खर्च पनि ३६ अर्ब रुपैयाँले बढेको मन्त्रालयले जनाएको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यो वृद्धि दर ५.६ प्रतिशत मात्र थियो।
यस्तै, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स पनि १५.५ प्रतिशतले बढेको छ।

निर्यातमा ७७.८ प्रतिशत वृद्धि

मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले बढेको छ भने आयातमा १३.१ प्रतिशत वृद्धि देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणका आधारमा अर्थतन्त्रका १८ क्षेत्रका सूचकहरू सकारात्मक रहेको मन्त्रालयको दाबी छ।

सकारात्मक सूचक देखिएका क्षेत्रहरूमा यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन सेवा लगायत रहेका छन्।

नीतिगत सुधार र लगानीमैत्री वातावरण

मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा लगानीमैत्री वातावरण निर्माणतर्फ उल्लेखनीय प्रगति भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक वातावरण सुधारसम्बन्धी ऐन, निजीकरण ऐन, भन्सार महसुल ऐन, बैंकिङ कसुर तथा सजाय ऐन लगायत कानुनी सुधार भएका छन्।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेश गरिनु, उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन सुरु हुनु, निजी क्षेत्रका गुनासा तथा मागको सम्बोधन हुनु मन्त्रालयले उल्लेख गरेको उपलब्धिहरू हुन्।

चुनौतीहरू पनि बाँकी

अर्थ मन्त्रालयका अनुसार लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि, र ग्रे लिष्टबाट बाहिर निस्कने चुनौती भने अझै अर्थतन्त्रमा कायम छन्। सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउँदै अर्थतन्त्रलाई दीगो र समावेशी बनाउने दिशामा काम गरिरहेको मन्त्रालयको निष्कर्ष छ।

अर्थतन्त्रको_अवस्था-तथ्यांक-२०८२_असार २६