
बैंकिङ खबर/ अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तत्परता मूल्याङ्कन चेकलिस्ट (रेडिनेस फिल्टर ) २०८२ जारी गरेको छ। वैदेशिक सहायताबाट सञ्चालन हुने आयोजनाहरूलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले चेकलिस्ट जारी गरेको हो।
चेकलिस्टले आयोजनाको पूर्वतयारीलाई व्यवस्थित गर्ने, आयोजनाको गुणस्तर कायम गर्ने, अन्तर्निकाय समन्वय सुदृढ हुने, आयोजना कार्यान्वयन निकायको अपनत्व अभिवृद्धि हुनेलगायत अपेक्षा गरिएको छ।
बहुपक्षीय विकास साझेदारमार्फत प्राप्त हुने सहायता परिचालनबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि चेकलिस्ट तयार पारिएको हो।
वैदेशिक सहायताबाट सञ्चालित अधिकांश आयोजना निर्धारित समय र लागतमा सम्पन्न हुन नसक्नुमा आयोजनाको पूर्वतयारीका पक्ष कमजोर रहेको अर्थ मन्त्रालयको निष्कर्ष थियो।
यस्ता आयोजनाहरुको वित्तीय सम्झौता भएपछि मात्रै पूर्वतयारीका काम गर्दा अधिकांश आयोजनाको म्याद थप गर्नुपरेको र थप सहायता परिचालन गर्नुपरेको भन्दै मन्त्रालयले वैदेशिक सहायताको उपयोगमाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरेको छ।
सहायता परिचालनमा थप छनोटपूर्ण भई उपयोग क्षमता वृद्धि गर्ने उद्देश्यसहित मन्त्रालयले चेकलिस्टमार्फत आयोजनाहरूलाई पूर्वतयारी अनिवार्य गर्ने व्यवस्था गरेको हो।



