
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्म (जेठ मसान्तसम्म) को तथ्यांकअनुसार मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको देखिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ खर्ब ३८ करोड रुपैयाँ थियो। चालु खाताको सन्तुलनमा आएको यो सुधार विदेश व्यापार, रेमिट्यान्स प्रवाह तथा सेवा कारोबारको सन्तुलन सुधारसँग सम्बन्धित रहेको विश्लेषण गरिएको छ।
त्यस्तै,शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा छ, जुन अघिल्लो वर्षको ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँको बचतभन्दा उल्लेखनीय वृद्धि हो।



