
बैंकिङ खबर/ पूर्वाधार विकासको सफल कार्यान्वयनका लागि दक्ष र नैतिक परामर्शदाताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियर्स फम्र्स नेपालका अध्यक्ष इ.ठाकुर प्रसाद शर्माले बताएका छन्। बिजनेस स्टुडियोसँगको विशेष अन्तरवार्तामा बोल्दै अध्यक्ष शर्माले योजना निर्माण मात्र नभई परियोजना निगरानी, गुणस्तर परीक्षण र कार्यान्वयनका सबै तहमा परामर्शदाताको भूमिका निर्णायक हुने उल्लेख गरे।
उनले भने,“परामर्शदाताले योजना बनाउने मात्र होइन, कार्यान्वयनको हरेक चरणमा गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्न योगदान दिन्छन्। तर, सरकार र नीतिनिर्माताले यो क्षेत्रलाई प्राथमिकता नदिँदा धेरै परियोजनाहरू समयमा सम्पन्न हुन सकेका छैनन्।”
शर्माले आर्किटेक्ट तथा इन्जिनियरहरूको पारिश्रमिक निर्धारणका लागि स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक रहेको बताएका छन्। उनका अनुसार, “निजी क्षेत्र, सरकार र स्थानीय तहबीच सहकार्यबिना दीगो पूर्वाधार निर्माण असम्भव छ। यसका लागि परामर्श सेवा क्षेत्रमा संस्थागत सुधार र समर्थन आवश्यक छ।”
परामर्श व्यवसायलाई अझ व्यवस्थित बनाउँदै प्राविधिक दक्षता, पेशागत नैतिकता र प्रविधिमा लगानी बढाउनुपर्ने उनको सुझाव छ। “परामर्शदाता केवल योजना निर्माणको अंग होइनन्, विकासको मेरुदण्ड हुन्। यस तत्वलाई बुझेर अगाडि बढ्दा मात्र देशले गुणस्तरीय र समयमै सम्पन्न हुने पूर्वाधार प्राप्त गर्न सक्छ,” उनले स्पष्ट पारे। शर्माले पूर्वाधार निर्माणमा देखिने चुनौतीहरूको समाधानका लागि परामर्शदाता क्षेत्रलाई नीतिगत रूपमा सबल बनाउनु पर्नेमा पनि जोड दिए।
हेर्नुहोस् भिडियो



