
बैंकिङ खबर/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भन्सारमा घोषणा नगरी ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले पाँच हजार डलर बराबरको रकम भन्सारमा घोषणा नगरिकन भारतबाट ल्याउन पाइने तर थप रकम ल्याउन चाहनेले भन्सारमा घोषणा गरेर ६ लाख भारतीय रुपैयाँसम्म ल्याउन सक्ने बताए।
अर्थमन्त्री पौडेलले नेपाल आउने पर्यटकको सहजताका लागि क्यूआर कोड र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था पनि रहेको जानकारी दिए। साथै, भारतीय पाँच सय रुपैयाँका नोट नेपालमा स्वीकार नगरिनुको कारण भारतले ती नोट फिर्ता नगर्ने भएकाले भएको उनले स्पष्ट पारे।
उनले भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँठाउँमा बारम्बार चेकजाँच नगरिने व्यवस्था पनि गरिएको बताए।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा संशोधनसम्बन्धी छलफलका क्रममा अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकारले कानुन बनाउन खोजेको र कालो धनलाई कर तिरेर वैध बनाउने प्रस्ताव निकै गम्भीर रहेको बताए। यसप्रकारको छलफलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निस्कन अझ चुनौतीपूर्ण बनाउन सक्ने पनि उनले उल्लेख गरे।



