२०८२ असार १९ गते

नेपालमा ढुक्क भएर लगानी गर्न स्पेनका उद्यमी–व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा आकर्षक लगानीका अवसर रहेको उल्लेख गर्दै स्पेनका व्यवसायीहरूलाई नेपालको समृद्धिमा साझेदार बन्न आह्वान गरे।

कार्यक्रममा स्पेन वाणिज्य तथा उद्योग महासङ्घका सदस्य, व्यापारीक अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रबारे विशेष जोड दिँदै भने, “विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्मस्थल लुम्बिनी लगायतका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूले नेपाललाई अद्वितीय बनाएको छ। यी क्षेत्रहरूमा गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके विश्वभरका पर्यटकलाई सहजै आकर्षित गर्न सकिन्छ।”

उनले हालसालै नेपाल सरकारले लगानीमैत्री नीतिहरू अगाडि सारेको, विदेशी लगानीकर्तालाई सहजता दिने सुधारहरू गरिएको र निजी क्षेत्रसँग सहकार्यमा आधारित विकासलाई प्राथमिकता दिइएको तथ्य उल्लेख गरे। महासङ्घले कार्यक्रममार्फत नेपाल र स्पेनबीच व्यापार तथा लगानी सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।