
बैंकिङ खबर/ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा भेटवार्ता भएको छ। भेटमा नेपाल र बंगलादेशबीचको द्विपक्षीय हित, व्यापार, पारवहन, पर्यटन तथा घरेलु उद्योग प्रवर्द्धनका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ।
उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेशबीच व्यापार विस्तारको उच्च सम्भावना रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार र पारवहन सहजीकरणमा जोड दिन आग्रह गरे। साथै, काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु मार्गबाट नेपालका मेडिकल विद्यार्थीहरू नियमित रूपमा आवतजावत गरिरहेकाले उक्त मार्ग सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
भेटमा सन् २०२६ मा नेपाल र बंगलादेश अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै विकसित मुलुकको दिशातर्फ अघि बढ्ने सन्दर्भमा उत्पन्न हुने सम्भावना र चुनौतीबारे पनि छलफल भएको थियो। दुवै पक्षले व्यापारिक मार्गमा रहेका अवरोध हटाउने, पर्यटकीय गन्तव्यबीच आवागमन सहज बनाउने, घरेलु उद्योग र निर्यात प्रवद्र्धनमा सहकार्य गर्ने विषयमा समेत विचारविमर्श गरेका थिए।
राजदूत रहमानले व्यापार तथा पारवहनमा सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै ‘जनतासँग जनता’ र ‘व्यापारसँग व्यापार’ सहकार्य बढाउनु पर्ने धारणा राखे । उनले बङ्गलादेश नेपालबाट थप परिमाणमा विद्युत आयात गर्न इच्छुक रहेको जानकारी दिएका थिए।



