
बैंकिङ खबर/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा अन्य देशका नागरिकले वर्चस्व जमाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय युवा परिषदद्वारा काठमाडौंमा आयोजित ८८‘युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन’८८मा सम्बोधन गर्दै उनले गार्मेन्ट र सुनचाँदी व्यवसायमा समेत बाह्य श्रमिकको प्रभाव बढ्दो रहेको बताए। ‘सुनचाँदी व्यवसायमा झन्डै तीन लाख बंगाली मुलका मानिस रोजगारीमा छन्। गार्मेन्टमा समेत नेपाली नाममात्र छन्, भित्र सबै अरूको कब्जा छ,’ मन्त्री भण्डारीले भने, ‘नेपालले आफ्नै श्रम बजार गुमाउँदै खाडीमूलुकमा श्रम पठाउनुपर्ने बाध्यता छ।’
उनले यस्ता अवस्थाको अन्त्यका लागि सरकारले नीति परिवर्तन गर्ने तयारीमा रहेको जानकारी दिए । सिपमूलक तालिमका कार्यक्रमहरू औपचारिकतामा सीमित रहेको बताउँदै मन्त्री भण्डारीले सीपको प्रमाणीकरण र अन्तर्राष्ट्रिय मान्यता आवश्यक रहेकोमा जोड दिए। उनले भने, ‘सिप विकास त छ तर त्यसको सर्टिफिकेसन मान्य छैन। त्यसैले श्रम बजार अरूले लिइरहेका छन्।’
सीटीईभीटीको प्रमाणपत्र अन्तर्राष्ट्रियस्तरमा मान्य हुने खालको हुनुपर्ने उनले बताए । श्रमजन्य समस्याको समाधानका लागि उद्योग मन्त्रालय र श्रम मन्त्रालयबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नीतिगत सुधार र सशक्त कार्यान्वयन अपरिहार्य भएको बताए ।



