
बैंकिङ खबर/ टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार विशेष अदालत काठमाडौंमा उपस्थित भएका बस्नेतलाई न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा अनियमितता गरेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मुद्दा दायरसँगै बस्नेतको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको छ। अख्तियारका अनुसार टेरामक्स प्रकरणमा बस्नेतले संलग्नता जनाएको ठहर गरिएको छ र उनीसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको विगो माग गरिएको छ।
प्रतिवादी सूचीमा बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा लगायत उच्च पदस्थ अधिकारीहरू रहेका छन्।



