Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

राजस्व चुहावट: ११ महिनामा १६० प्रतिवादीविरुद्ध ४८ मुद्दा

२०८२ असार १३ गते


बैंकिङ खबर/ राजस्व चुहावट नियन्त्रणका लागि कडा कारबाही अघि बढाउँदै राजस्व अनुसन्धान विभागले आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा १६० जना प्रतिवादीहरूमाथि ४८ वटा अभियोगपत्र दायर गरेको छ। विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।

उनका अनुसार उच्च अदालतमा दायर गरिएका मुद्दाहरूमा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदाबी गरिएको छ, जसमा २ अर्ब ५९ करोड रुपैयाँ विगो र सोही अनुपातको जरिवाना समावेश छ।

विभागले गरेको आकस्मिक निरीक्षणका क्रममा भन्सार चोरी, ट्रान्सपोर्टमार्फत ल्याइएका सामग्रीको मूल्याङ्कन र वर्गीकरणमा गडबडी फेला परेको छ। यसकै आधारमा १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरिएको छ।

धरौटीमध्ये ५५ करोड १८ लाख रुपैयाँ भन्सार तथा आन्तरिक राजस्व विभागमा असुल गर्न लेखी पठाइएको समेत विभागले जनाएको छ। राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धान अन्तर्गत पनि १६१ जना प्रतिवादीमाथि ११७ वटा मुद्दा दायर गरेको छ। यस सम्बन्धी कारबाहीबाट मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको राजस्व मागदाबी गरिएको हो।

महानिर्देशक घिमिरेका अनुसार विभागले अनुसन्धान र मुद्दा दायर गर्दा तथ्यमा आधारित सूचना, दस्तावेज र वस्तुनिष्ठ प्रक्रियालाई आधार बनाउँदै आएको छ। उनका अनुसार, “हाम्रा सबै कारबाहीहरू पूर्वतयारी, छानबिन र परीक्षणपछि मात्रै अगाडि बढाइएका छन्।”