
बैंकिङ खबर/ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, सेवा र मूल्यांकन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत परराष्ट्रमन्त्री देउवाले विदेशमा कार्यरत नेपाली नागरिकहरूलाई सरकारले कसरी सेवा दिन सक्छ भन्ने विषयमा सरकार गम्भीर भएर लागिपरेको बताइन्। उनले भनिन्, “दुई–तीन मन्त्रालय मिलेर काम अगाडि बढाइरहेका छौं। विदेशमा रहेका नेपालीहरूलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई अझ सुधार गर्दै लैजान्छौं।”
त्यसैगरी, वैदेशिक रोजगारीमा गएकाहरूको सुरक्षाका लागि ‘श्रम संसार’ एप सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले यसको प्रभावकारिता सफल भएमा कुन देशमा कति नेपाली छन् भन्ने जानकारी सजिलै उपलब्ध हुने बताइन्।
कार्यक्रममा श्रममन्त्री शरत सिंह भण्डारीले पनि वैदेशिक रोजगारीसम्बन्धी तथ्यांक र सूचनामा अझै धेरै खाडल रहेको स्वीकार गर्दै त्यसलाई क्रमशः सुधार गर्दै लगिएको स्पष्ट पारे। “नेपाली जुनसुकै ठाउँमा भए पनि नेपाली हुन् भन्ने अनुभूति र सेवा पाउने व्यवस्था हुनुपर्छ,” उनले भने।
श्रममन्त्री भण्डारीले सूचनाको अभावका कारण नेपाली नागरिकहरू ठगिने गरेका घटनालाई न्यून गर्न प्रविधिको उपयोग बढाइएको बताए। उनले राष्ट्रिय स्तरको सूचना पोर्टलको घोषणा गरिएको जानकारी दिँदै उक्त पोर्टललाई थप परिमार्जन गर्दै सेवाहरू विस्तार गरिने बताए।
“हामी प्रत्येक पालिकादेखि विदेशसम्मको नेटवर्क विस्तार गर्न चाहन्छौं। नागरिक एपमा पनि जानकारी समावेश गरेका छौं,” उनले भने, “प्रविधिको सहायताले सूचना प्रणाली बलियो बनाउँदै छौं।” कार्यक्रममा सहभागी अधिकारीहरूले वैदेशिक रोजगारसँग जोडिएका समस्या समाधानका लागि मन्त्रालयहरूबीच समन्वय, प्रविधि मैत्री प्रणाली र सूचनाको पहुँचमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । सरकारको यस कदमले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।



