२०८२ असार १२ गते

‘विदेशिने बाध्यता हटाउन हरेक क्षेत्रमा रोजगारी सिर्जना गरौं’

 

बैंकिङ खबर/ उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर नेपालको सपना साकार पार्न देशमै लगानी र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

देशमै पहिलोपटक सुरु गरिएको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, “देशमा पर्याप्त सम्भावना छ, थोरै समर्थन पाए स्वदेशी लगानीकर्ताले पनि आत्मनिर्भरताको बाटो तय गर्न सक्छन्।”

ढकालले वर्तमान सरकारसँगको सहकार्यले आर्थिक सुधारको गति लिएको र नीतिगत संशोधनले निजी क्षेत्र उत्साहित भएको उल्लेख गरे। उनले भने, “जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र लथालिङ्ग थियो, तर अहिले निजी क्षेत्र र सरकारबीचको सहकार्यले लयमा फर्किएको छ।”

उनको भनाइमा, अबको प्रमुख चुनौती युवालाई स्वदेशमै अवसर दिनु हो। “विदेशिने बाध्यता हटाउन हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्छ। देशका सबै प्रवेशद्वारलाई पर्यटकीय क्षेत्र बनाउन लागिरहेका छौं,” उनले भने।

ढकालले कानुनी सुधार, लगानीमैत्री नीतिहरू र स्वदेशमै उद्योग विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी पूँजीमै ठूलो सम्भावना रहेको बताए। “असल सोच र भावनाले लगानी गरिएमा सफलता अवश्य प्राप्त हुन्छ,” उनले विश्वास व्यक्त गरे।

उनको धारणा अनुसार, सही नीति, सहकार्य र संकल्पका आधारमा नेपालमै वैदेशिक रोजगारीको विकल्प दिन सकिनेछ। “हामी काम गरेरै जनताको मन जित्न सक्छौं,” अध्यक्ष ढकालको भनाइ थियो।