२०८२ असार १० गते

तहसनहस भएको अर्थतन्त्र बिस्तारै लयमा फर्कदैं छ, अब देशले गति लिन्छः पोखरेल

बैंकिङ खबर/नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेकाले अब देशले विकासको गति लिने बताए।

महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए। उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उनको भनाइ रहेको छ।

इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले सुनाए। असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गरे।

उनले यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्नेमा जोड दिए। एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत उनले जिकिर गरे।