२०८२ असार ६ गते

देश दुर्गमबाट सुगममा परिणत भइसक्योः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सुगममा पुर्‍याइसकेको बताएका छन्। ललितपुरको ग्वार्कोस्थित ओभरपासको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले देश दुर्गमबाट सुगममा परिणत भइसकेको बताए।

‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौं। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ। त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ। यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ। ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ। अरु खनिजको उत्खनन् गर्नेछौं। कृषिको आधुनिकीकरण गर्नेछौं। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौं। हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ,’ उनले भने।

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रूपमा अगाडि बढेको बताए। उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए।