२०८२ असार ३ गते

सांसद भट्टचनको पहलमा मुस्ताङमा दुईवटा पुल बन्दै

बैंकिङ खबर/संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङमा दुई वटा पुल बन्ने भएको छ । प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जाने पदमार्गमा दुईवटा झोलुङे पुल बन्ने भएको हो ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि पुल निर्माणको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दामोदरकुण्ड जाने लोघेकर पदमार्गको भर्सा खोला र थासाङ गाउँपालिका–२ स्थित नाउरिकोट–गुरुसाङ्वो गुफा जोड्ने गरी पुल निर्माण हुने भएको हो।

दुवै पुलको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) सम्पन्न भइसकेको छ र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, संस्पेन्सन ब्रिज डिभिजन कार्यालयले यी पुलहरू निर्माणको जिम्मेवारी लिएको छ । डिभिजनका इञ्जिनीयर प्रवेश रेग्मीका अनुसार भर्सा खोलामा ४७० मिटर लामो र गुरुसाङ्वो गुफा मार्गमा ४६० मिटर लामो झोलुङे पुल निर्माण गरिनेछ ।

भर्सा खोलाको पुल निर्माणको लागत अनुमानित ११ करोड ४६ लाख रुपैयाँ र गुरुसाङ्वो गुफाको पुलको लागत ६ करोड रुपैयाँ रहेको छ।
बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताको प्रक्रिया भदौ वा असोजभित्र पूरा हुने अपेक्षा गरिएको छ।

सांसद भट्टचन गत कात्तिकमा संस्पेन्सन ब्रिज डिभिजनका इञ्जिनीयर र प्राविधिक टोलीसहित हेलिकोप्टरमार्फत स्थल निरीक्षणमा पुगेका थिए । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सांसद भट्टचनको सक्रियताले योजनालाई मूर्तरूप लिन सहयोग पुगेको बताए ।

भर्सा खोलामा पुल निर्माण भएमा हाल ९ घण्टाको पैदल यात्रा लाग्ने दामोदरकुण्ड मार्ग ५ घण्टामै पूरा गर्न सकिनेछ। यसले धार्मिक तीर्थयात्रीहरूलाई ठूलो राहत दिनेछ ।

यस्तै, थासाङ गाउँपालिका–२ मा पर्ने गुरुसाङ्वो गुफा जाने पैदल मार्ग पनि पुल निर्माणपछि आधा घण्टा छोटिनेछ। हाल मुख्य राजमार्गबाट एक घण्टाको पैदल उकालो लाग्ने गुफा यात्रा पुल बनेपछि ३० मिनेटमै सहज रूपमा गर्न सकिने वडा अध्यक्ष गौतम शेरचनले जानकारी दिए।

सांसद भट्टचनले धार्मिक महत्व भएका स्थानहरूमा सहज पहुँच पुर्‍याउन पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताए। ‘दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जस्ता पवित्र स्थलमा तिर्थालुहरूको पहुँच सजिलो बनाउन झोलुङे पुल निर्माण महत्वपूर्ण छ,’ सांसद भट्टचनले भने।