२०८२ जेष्ठ ३० गते

भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले फड्को मार्न सकेनः उपाध्यक्ष श्रेष्ठ

बैंकिङ खबर/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक रहेको बताएका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनलाई  सदरमुकाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सामाजिक र आर्थिक रुपान्तरण जरुरी रहेको बताए।

‘सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘लामो समयदेखि राज्य र समाजमा भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले गुणात्मक फड्को मार्न सकिरहेको छैन।’ उनले अहिलेको विकासको गतिले जनताको आवश्यकता पूरा गर्न नसक्ने बताए।

‘आर्थिक रुपान्तरण र विकासको काम सतही ढङ्गले गरेर हुँदैन,’ उनले भने, ‘यति ठूलो युगान्तकारी परिवर्तन राजनीतिक क्षेत्रमा त भयो, तर विकासका क्षेत्रमा जुनसुकै सरकार वा राजनीतिक दल आए पनि सतही विकासले अब पुग्दैन, विकासमा गुणात्मक फड्को मार्नुपर्छ।’

लोकतन्त्रवादी शक्तिले यथास्थितिवाद र प्रतिगमनलाई सँगसँगै परास्त गरेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ। यसले मात्र सामाजिक र आर्थिक रुपान्तरणको ढोका खोल्न सकिने उनले बताए। श्रेष्ठले माओवादी केन्द्रले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आफूलाई पनि रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।

सबै नेपालीको पहिचान र अधिकार स्थापित भएमात्र राष्ट्रियता बलियो हुने उनको भनाइ छ। ‘हामीले आफ्नो पहिचानलाई गर्वका साथ लिन र हाम्रो भाषा, संस्कृति र परम्पराको रक्षा गर्न अघि बढ्नुपर्छ,’ श्रेष्ठले भने, ‘मनमा कसैले पनि हीनताबोध लिएर बस्नु हुँदैन।’