२०८२ जेष्ठ २६ गते

विदेश पलाएन हुने अवस्था रोक्न स्वदेशमै अवसर सिर्जना गराैँ : देउवा

बैंकिङ खबर/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै क्षेत्रमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताए।

सभापति देउवाले जलवायु परिवर्तनको असर सबैभन्दा बढी नेपालमा पर्ने देखिएकाले न्युनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने बताए। देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। सभापति देउवाले युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए।